खेलकुद

विश्वकपको एक महिनाअगाडि नै अमेरिका लगिएको नेपाली क्रिकेट टीम के गर्दैछ ?

बिज्ञापन

काठमाडौं । दोस्रो पटक टी-२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टीम गत साता अमेरिका उड्यो । विश्वकप सुरु हुनुभन्दा एक महिना अगाडि नै अमेरिका लगिएको टोलीको कुनै सेड्यूल भने सार्वजनिक गरिएको छैन ।

बिज्ञापन

अमेरिका जाने टोलीमा १५ जना खेलाडी छन् भने ८ जना कोचिङ स्टाफ र अफिसियल गरी २३ सदस्य छन् । क्यानका केन्द्रीय सदस्य दिवाकर घलेलाई टीम लिडरको भूमिका दिएर अमेरिका भ्रमण गर्ने टोलीभित्र अटाइएको छ । कोचिङ स्टाफ ६ जना छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्द भने विश्वकप सुरु भएपछि जानेछन् ।

अमेरिकामा नेपाली टोलीले के गरेर एक महिना बिताउँदैछ भन्ने क्रिकेट समर्थकलाई खुल्दुली हुन सक्छ । यस विषयमा क्यानका म्यानेजर विनोद दाससँग प्रश्न गर्दा उनले नेपाली टीमलाई अमेरिकाको तीन वटा शहरमा क्याम्पमा राखिने बताए ।
उनले भने, ‘त्यस्तो महत्त्वपूर्ण सेड्यूल त केही छैन । खेलाडीहरू क्याम्पसमा बस्नु हुन्छ । त्यहाँको वातावरणमा अभ्यस्त हुनलाई चाँडै पठाइएको हो ।’

नेपाली टीम अहिले फ्लोरिडामा क्याम्पमा छ । त्यहाँ चार दिन क्याम्पपछि थप दुई शहरमा क्याम्प राखिने छ । यसबीचमा नेपालले दुईवटा अभ्यास खेल खेल्ने भनिए पनि कोसित भनेर फिक्स्ड भइसकेको छैन ।

क्यान स्रोतका अनुसार नेपाली टीम एक महिना अमेरिका बस्दाको खर्च सबै नेपाल सरकारले नै व्यहोर्नुपर्ने हुन्छ ।

‘आइसीसीले नेपालबाट अमेरिका जाँदाको ‘एयर फेयर’ दिन्छ, बाँकी हाम्रो आफ्नै खर्च हुने हो,’ स्रोतले भन्यो । खर्च व्यवस्थापनको पाटो क्यान सचिव पारस खड्काले हेरिरहेका छन् ।

खर्च व्यवस्थापनको विषयमा क्यानको बोर्डमा छलफल नभएको स्रोतले बतायो । क्यानका केही सदस्यले नेपाली टीमको सेड्यूल मागेको भए पनि पारसले उपलब्ध गराएका छैनन् ।

सरकारले दुई महिना अगाडि विश्वकप तयारीका लागि भनेर क्यानलाई ५ करोड रुपैयाँ उपलब्ध गराएको थियो । स्रोतका अनुसार यही बजेट अमेरिकामा खर्च गर्न लागिएको हो ।

विश्वकप सुरु भएपश्चात् होटलमा राख्ने खर्च भने आइसीसीले व्यहोर्ने छ । नेपालले विश्वकपअघि दुई वटा वार्म अप म्याच खेल्नेछ ।

बिज्ञापन