घटना समाचार

विराटनगरमा फ्ल्याट भाडामा लिएर यौन धन्दा, ६ जना युवतीको उद्धार

बिज्ञापन

विराटनगर : विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने गरिएको घटना बाहिर आएको छ।   

आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारी विभिन्न ठाउँबाट युवतीलाई ल्याएर भाडाको कोठामा राख्दै यौन व्यवसायमा लगाउने गरिएको खुलेको हो।  वेश्यावृत्तिमा लगाउने गरिएका युवतीलाई राखेको फ्ल्याटमा प्रहरीले छापा हानेर ६ जनालाई उद्धार गरेको छ।  वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको डीएसपी बुद्ध श्रेष्ठ नेतृत्वको टोलीले भाडाको फ्ल्याटमा छापा हानेर गत शुक्रबार २१ देखि २३ वर्ष उमेर समूहका युवतीहरूको उद्धार गरेको हो।

बिज्ञापन

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १/१ जना तथा झापाका २ जना छन्।  सुनसरीको इनरुवाका अन्दाजी ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडालले विराटनगर महानगरपालिका–११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई यौन व्यवसायमा लगाउँदै आएको जानकारी उनले दिए।  

कार्कीका अनुसार साह र चुँडालले मोहन सिटौलाको २ तले घरको भुइँ तलाको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई राख्ने गरेको पत्ता लागेको छ।  ‘२ महिनाअघिदेखि फ्ल्याट भाडामा लिएर युवतीहरूलाई राख्दै यौन व्यवसायमा लगाउने गरिएको खुल्यो।  आकर्षक रोजगारीको प्रलोभनमा पारेर काठमाडौंलगायत विभिन्न ठाउँबाट झिकाइएका युवतीहरूलाई आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गर्दा रहेछन्,’ उनले भने।  उनका अनुसार फ्ल्याट भाडामा लिएर युवतीलाई राखिएको भए पनि यौन व्यवसायमा लगाउन भने सम्पर्कमा रहेका व्यक्तिमार्फत अन्यत्र नै पठाउने गरेको पाइएको छ। 

साह र चुँडालले यौन व्यवसायमा लगाउने नाममा युवतीहरूलाई चरम यातनासमेत दिने गरेको एसपी कार्कीले बताए।  ‘कुटपिट गरेको चोट र निलडाम शरीरभरि छ।  हातलगायत शरीरका विभिन्न भागमा चुरोटका ठुटाले पोलेको घाउहरू देखिन्छ,’ उनी भन्छन्, ‘आफूहरूले भनेको नमानेमा युवतीलाई कुटपिट गर्दै यातना दिने गरिँदो रहेछ।  यातना र शोषणको पीडा युवतीहरूले प्रहरीलाई रुँदै सुनाएका थिए।’ 

युवतीलाई कुटपिट गर्दै यातना दिएर जरबजस्ती यौन क्रियाकलापमा लगाउनेमध्ये चुँडाललाई प्रहरीले पक्राउ गरेको छ।  उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार चुँडालका व्यावसायिक साझेदार साह भने फरार भएका छन्।  उनको खोजी भइरहेको जानकारी बस्नेतले दिए।  उद्धार गरिएका युवतीहरूलाई भने प्रहरीले महिला अधिकारवादी संस्थाको जिम्मा लगाएको थियो।  संस्थामार्फत नै युवतीहरूलाई आआफ्नो घर फिर्ता गरिएको प्रहरीको भनाइ छ

बिज्ञापन