धनगढीका ५१ सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बोट रोपिँदै
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढीमा रहेका सामुदायिक विद्यालयमा फलफूलका बोट रोप्न थालेको छ । ‘विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा फलफूलका बोट रोप्न लागिएको हो ।
उपमहानगरपालिकाकाअनुसार धनगढीमा रहेका ६८ मध्ये यो वर्ष ५१ सामुदायिक विद्यालयमा फलफूलका बोट रोपिने छ । मंगलबारबाट सुरु गरिएको यो अभियानअन्तर्गत १६ वटा सामुदायिक विद्यालयमा एक हजार ५२५ फलफूलका बिरुवा रोपिएको धनगढी नगर प्रमुख गोपाल हमालले बताए ।
उपमहानगरले शिक्षा महाशाखाका प्राविधिक सहायक केशव खत्रीलाई सामुदायिक विद्यालयमा बिरुवा रोप्ने कार्यक्रमको जिम्मेवारी दिएको छ । जसअनुसार धनगढीका ६८ सामुदायिक विद्यालय मध्ये पर्खाल भएका ५१ विद्यालयमा कति बिरुवा रोप्न सकिन्छ भन्ने स्टिमेट निकालेर विद्यालयमा आँप, लिची र अम्बाका बोट रोप्न थालेको उपमहानगरपालिकाले जनाएको छ ।
यो वर्ष ५१ विद्यालयमा गरि चार हजार ५ सय फलफूलका विरुवा रोपिने छ । विद्यालयमा बिरुवा रोपेर संरक्षण गर्न सजिलो हुने र फल्न थालेपछि बालबालिकाहरूलाई नै खान दिने उद्देश्यले फलफूलका बिरुवा रोप्ने योजना बनाइएको नगर प्रमुख हमालले बताए ।
‘पर्यावरणको संरक्षण र बालबालिकाले फल खान र रुखमा चढेर रमाउन सकून् भनेर फलफूलको बिरुवा रोप्न थालिएको हो,’ नगर प्रमुख हमालले भने, ‘विद्यालयले फलफूल बिक्री गरेर आम्दानी गरोस् भनेर रोपिन लागेको होइन । विद्यार्थी र पर्यावरणका लागि फलफूलको बिरुवा रोप्न थालिएको हो।’
विद्यार्थीहरूले विद्यालयमा पढ्दै मौसमअनुसार पाक्ने फलफूल टिपेर खान पाउन भनेर हरेक विद्यालयमा जग्गाको क्षेत्रफलका आधारमा आँप र अम्बाको बिरुवा वितरण गरिने कार्यक्रम संयोजक केशव खत्रीले बताए ।
त्यसैगरी, विद्यालयमा रोपेका बिरुवा हुर्काउन र संरक्षण गर्न सम्बन्धित विद्यालयले विद्यार्थीहरूलाई जिम्मेवारी दिइने बताइएको छ । रोपिएका बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र संरक्षण गर्न विद्यार्थीहरूलाई जिम्मा दिइने पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए ।