अविवाहित नेपाली महिलाले यूएईमा बच्चा जन्माएपछि…

काठमाडौं । करिब ६ महिनाअघि नेपाल एसोसियसन एनआरएनए एनसीसी यूएईमा एउटा निवेदन आयो । निवेदनमा पीडित एक नेपाली महिलाले नेपाल पठाउन सहयोग मागेकी थिइन् । समस्या एउटी अविवाहित नेपाली महिलाको थियो, जसले बच्चा जन्माएकी थिइन् ।
बच्चाका बाबु सम्पर्कविहीन थिए । ती महिला र बच्चालाई नेपाल पठाउन त्यति सहज भने थिएन । तर पनि एनआरएनए एनसीसी यूएईले त्यहाँको सरकारसँग हारगुहार गरेपछि सबै कानुनी प्रक्रिया पूरा भयो । यूएई सरकार र अवुधाबीस्थित नेपाली दूतावासबाट कानुनी प्रक्रिया पूरा गर्दागर्दै झन्डै ६ महिना समय लाग्यो ।

त्यस अवधिसम्म आमा र बच्चा बस्ने खाने सबै व्यवस्था गरेर केही दिनअघि नेपाल पठाउन सफल भएको एनआरएनएले जनाएको छ । ती अविवाहित महिलाको नेपालमा घर कहाँ हो ? उनको नाम के हो ? यस विषयमा कुनै परिचय खुलाइएको छैन ।
एनआरएनएले पीडित आमा र बच्चाको आगामी नेपाल बसाइ सुखद रहोस् भन्ने कामना गर्दै सम्पर्कविहीन बच्चाका बाबुलाई आफ्नो बच्चा र बच्चाकी आमासँग सम्पर्कमा आई जिम्मेवारी लिन पनि अनुरोध गरेको छ । ती बच्चाका बाबु नेपाली वा अन्य कुनै मुलुकका हुन् ? त्यो पनि खुलाइएको छैन ।
यो घटना भने नौलो होइन । गत वर्ष पनि एक नेपाली महिलाले बिनाबाबुको बच्चा लिएर कुवेतबाट नेपाल आएकी थिइन् । गत वर्ष कुवेतबाट फर्किएकी अर्की नेपाली महिलाले एयर अरेबियाको विमानको बाथरुममा बच्चा जन्माएकी थिइन् ।
रोजगारीका लागि यूएई, कुवेतलगायतका खाडी मुलुकमा गएर नेपाली महिला कामदारहरू कसैको माया जालमा पर्ने र मन मिलेपछि ‘रिलेसन’ राख्ने अनि बच्चा बसेको थाहा पाएपछि केटा मानिस फरार हुने गरेका धेरै उदारहण छन् । केटा फरार भएपछि धेरै नेपाली महिला दिदीबहिनीले केटाले बिहे गर्छु भनेर फसायो भन्दै उद्धारका लागि हारगुहार गर्ने गरेका छन् ।
पछिल्लो समय यूएईमा नेपालीहरूको संख्या व्यापक रूपले बढेको छ । संख्या बढेपछि समस्या पनि उत्तिकै बढिरहेका छन् । हरेक दिन फरक–फरक प्रकृतिका घटना भइरहेका छन् । कतिपय घटनाले अति नै अप्ठेरो अवस्था निम्त्याउने गरेको भन्दै एनआरएनएले त्यहाँ रहँदा यूएई सरकारको कानुनलाई पालना गर्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेको छ ।
