बाजुरामा टमाटरले बजार नपाउँदा कृषक चिन्तित
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ को भानासिलामा उत्पादन भएको टमाटरले समयमै बजार नपाउँदा बारीमा सड्न थालेपछि कृषक चिन्तित भएका छन् ।
त्रिवेणी नगरपालिका–९ का कृषक विक्रम कटुवालले प्राङगारिक मलको प्रयोगबाट गाउँमै उत्पादन गरेको सो टमाटरले समयमै बजार नपाउँदा बारीमै सड्न थालेको हो । असारको पहिलो साताबाट बारीमा टमाटर पाक्न थाले पनि बजार नपाएपछि अहिले बारीमै सड्ने गरेको त्रिवेणी नगरपालिका–९ का स्थानीय कृषक विक्रम कटुवालले बताए ।
उनले भने, “सात रोपनी जमिनमा मल्चिङ्ग प्रविधिबाट टमाटर खेती गरेको छु । अहिले टमाटर राम्रोसँग फलेको छ । यसले बजार नपाउँदा त्यत्तिकै बारीमै सड्न थालेको छ ।”
बुढीगङ्गा खोलामा पानीको बहाव बढ्दै गएपछि अहिले गाडी बाम्कामै रोकिने गर्छ । भरियामार्फत ढुवानी गर्दा टमाटर बेचेको मूल्यभन्दा बढी भरियालाई पैसा दिनु पर्ने भएपछि अहिले टमाटर बारीमै सड्ने गरेको कटुवालले बताए ।
यहाँका अधिकांश कृषकले पछिल्लो समय तरकारी खेती गर्दैआएका छन् । प्रत्येक गाउँमा सडक सञ्जालको पहुँच भएसँगै किसान तरकारी खेतीमा आकर्षित हुन थालेका छन् ।
हिउँदको बेला जताततै गाडीको पहुँच भए पनि बर्खाको समय ग्रामीण सडक अवरुद्ध हुने गरेकाले यहाँका अधिकांश स्थानीयले उत्पादन गरेको तरकारी बारीमै सड्ने गरेको छ ।
कटुवालले पहिला बाम्का बजारमा टमाटर बिक्री गर्थे । त्यहाँका साहुले दैनिक ५ र ७ क्रेट राख्ने गर्थे । अहिले टमाटर बढी उत्पादन भएको र बजारमा खपत नभएकाले कटुवाललाई टमाटर बिक्रीमा समस्या भएको त्रिवेणी नगरपालिका कृषि शाखा प्रमुख खेमराज न्यौपानेले बताए ।