Sudur Pradesh News

मुख्यमन्त्रीकी श्रीमती नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर, ६ महिना कैद

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएकी छन् । उनले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा ६ महिना कैद सजाय तोकिएको छ ।

बिहीबार विशेष अदालतले उनलाई १० हजार रुपैयाँ जरिवानासमेत हुने सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि ७ असोज २०७९ मा मुद्दा दायर गरेको थियो । जसमाथि विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

बिज्ञापन

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित श्री शिव माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकका रूपमा कार्यरत सोडारीले जागिरका लागि नक्कली प्रमाणपत्र पेस गरेकी थिइन् । उनले भारतबाट एउटै तहका दुईवटा माध्यमिक उत्तीर्णसरहका (१० कक्षा) प्रमाणपत्र ल्याएको भेटिएको थियो ।

अनुसन्धानका क्रममा ती दुवै प्रमाणपत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर भएकामा ठहर हुने फैसला भएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कसुर गरेको भन्दै इजलासले उनलाई कैद र जरिमानाको सजाय सुनाएको हो ।

बिज्ञापन