२८ वर्षपछि मुगुबाट मन्त्री
गु । दुर्गम जिल्ला मुगुले २८ वर्षपछि नेपाली कांगे्रसबाट संघीय सरकारमा प्रतिनिधित्व गर्न पाएको छ । नेपाली कांग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रिपरिषदमा मुगु जिल्लाका तत्कालीन प्रतिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री भएका थिए ।
२०५२ सालपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनै मल्ल शिक्षा राज्यमन्त्री भएका थिए । उनी २०५३ सालसम्म शिक्षा राज्यमन्त्री बनेका थिए । २०५३ सालयता देशमा कति सरकार बने, ढले । तर, मुगु जिल्लाले कहिल्यै संघीय मन्त्रिपरिषदमा अवसरर पाएन ।
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ गठित सरकारमा मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्तिसमेत हुन् ।
मन्त्री ऐनबहादुर शाही मुगुमा निकै लोकप्रिय र सालिन नेताका रूपमा चिनिन्छन् । आमनागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो छ । मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासको समेत अपेक्षा गरेको छ । शाही नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापति पनि हुन् ।
२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका–२ जडेपानी गाउँमा जन्मेका शाही २०४४–४५ सालताका नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा होमिएका थिए । २०४८–५१ र २०५२–५३ सालमा शाहीले तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव भएर काम गरेका थिए । २०६८ सालमा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।