राष्ट्रिय समाचार

सिमलताल दुर्घटनाः भारतबाट आइपुग्यो गोताखोर टोली

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको लेदो पहिरोमा परेर सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुईवटा बस र यात्रु खोज्न भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइपुगेको छ ।

भारतीय टोलीमा कुनाल तिवारी, ललित कुमार, रविशंकर सरोज, सुधीरकुमार सिंह, बहादुर नाथ, सन्दिपकुमार दुवे, बिक्रान्त कुमार, अवध किशोर, हेमन्तकुमार यादव, मनोजकुमार यादव, सुनिलकुमार सिंह यादव र लोकेशकुमार रहेका छन् ।

टोलीमा चार जना गोताखोर छन् । त्यसैगरी, तीनवटा सोनार क्यामेरा छन् । भारतीय टोली सात दिनसम्म खोजीमा खट्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । शुक्रबार नेपाल आइपुगेको सो टोलीले घटनास्थलको अवलोकन गरेर काम सुरु गर्ने जनाएको छ । उनीहरू सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल खटिएका छन् । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।

काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति डिलक्सका तीन यात्रुहरू नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए । बाँकी ६२ यात्रु बेपत्ता भएका थिए । दुर्घटनापछि नदीमा खोजी गर्दा २४ वटा शव फेला परेको छ जसमध्ये १५ जना सो बसको भएको पुष्टि भएको चितवन प्रशासनले जनाएको छ । गणपति डिलक्सका चालक र सहचालकको शवसमेत भेटिएको छ ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार ३१ असारमा भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो ।

प्रशासनले खोजी तथा उद्धारका लागि सबै खालका प्रयासलाई जारी राखेको जनाएको छ । सम्भावित सबै स्थानमा चितवन जिल्लामा रहेका शसस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय, कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीको संलग्नतामा फलामे हुक, गोताखोर, सोनार, ¥याफ्टिङ बोट, बाइनाकुलर, टेलिस्किोप कायकको प्रयोग भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । साथै परिवारसँगबाट यात्रुको परिचयपत्र र फोटो संकलन गरी खोज तथा उद्धार कार्य गरिएको प्रशासनले जनाएको छ । सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा ५ सय सुरक्षाकर्मी खटिएका छन् ।

नेपाली सेनाका १ सय ४२ जना परिचालित
पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका १ सय ४२ जनाको टोली परिचालित भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नदीको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् । खोजीका क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २४ जनाको शव फेला पारेको छ । सोमध्ये नौवटा शवको सनाखत हुन बाँकी छ ।