Sudur Pradesh News

सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न ठूला ३ दलको सुझाव

बिज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका ठूला तीन दलले वर्तमान सरकार गैरजिम्मेवार रहेको ठहर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सामूहिक वक्तव्य जारी गर्दै सरकारले संसदलाई बन्दी बनाएको आरोप लगाए । प्रदेशमा विपद् आउँदा पनि सरकारले चासो नदिएको प्रमुख तीन दलको आरोप छ ।

कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले संयुक्त हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा सरकारले विशेष अधिवेशन छलेर गैर जिम्मेवार बनेको बताइएको छ ।

बिज्ञापन

‘विपद्को पूर्वतयारीमा प्रदेश सरकार चुक्यो नै त्यसपछिको उद्धार, राहत र पुन:स्थापनाको सवाललाई समेत नजरअन्दाज गर्दा आम नागरिक अभिभावकविहीनताक अवस्थामा छन् । यस्तो विषम परिस्थितिको बेवास्ता गर्दै प्रदेश सरकारले हरेक दिन प्रतिगामी कदम चाल्दै जनताका समस्याहरूको छलफल गर्ने थलो अर्थात् सदनलाई बन्दी बनाएको छ’ तीन दलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अल्पमत र नैतिकता गुमाइसकेको भन्दै सरकारले आफ्ना केही निहित स्वार्थपूर्तिका लागि हठात् सदन अन्त्यको सिफारिस गरेको विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

‘विशेष अधिवेशनमा सरकारको अनुपस्थितिले ऊ जनताप्रति कति गैर जिम्मेवार छ भन्ने कुरा छर्लङ्ग भएको छ । संसदीय व्यवस्थाको उपहास गर्दै सदन छल्ने सरकारको यो कदम प्रतिस्पर्धा र पहलकदमी विरुद्धको क्रियाकलाप हो । विपद्को दुःखद अवस्थामा आम नागरिकको घरदैलोमा नजानु, हठात् सदन अन्त्यको सिफारिस गर्नु तथा विशेष अधिवेशन फेस नगर्ने लगायतका घोर अलोकतान्त्रिक क्रियाकलापको हामी भर्त्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘विशेष अधिवेशनको आजको बैठकमा सरकारको उपस्थिति नदेखिएपछि सदनको मूल ढोकामा ‘दिउँसै टर्च बालेर सरकार खोज्न’ हामी बाध्य भएका छौँ । अतः अल्पमतमा परी नैतिकता गुमाइसकेको सरकारलाई राजीनामा गरी मार्ग प्रशस्त गर्नका लागि पुनः आग्रह गर्दछौँ ।’

२० गतेदेखि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले अहिलेसम्म विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन् । १८ गतेसम्म विश्वासको मत लिने वा राजीनामा दिने दुई विकल्प उनीसँग छ ।