प्रकाश मोक्तानलाई घरमै पुगेर नागरिकता प्रदान

भोजपुर । भोजपुरको षडानन्द गाउँपालिकाका प्रकाश मोक्तानलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
प्रकाश सानैदेखि चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल ‘हेर्ने कथा’ मार्फत बाहिर आएको थियो । प्रकाशको घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको थियो ।

आज प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं, वडाअध्यक्ष प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गर्नुभएको हो ।
षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले अब प्रकाशलाई उहाँको योग्यताअनुसारको रोजगारी दिने बताउनुभएको छ । ‘विभिन्न दाताहरूले उहाँको घर बनाउने काम शुरू गरिसकेका छन् । अब रोजगारीको कुरा आउँछ, उहाँको योग्यताअनुसारको रोजगारी दिन नगरपालिका तयार छ । रोजगारी चाहियो भने सम्पर्क गर्नुहोस् भनेको छु । तर अहिले उहाँ समाजसँग घुलमिल नभएकाले कुनै पनि विषयको मेसो पाउनुभएको छैन, उहाँ तयार हुनासाथ हामीले योग्यताअनुसारको रोजगारी दिन्छौं’, उहाँले भन्नुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।