सन्त निरंकारी सत्संग भवन बीरेन्द्रनगरमा वृहत सत्संग सम्पन्न

सुर्खेत, २७ पौष । सन्त निरंकारी सत्संग भवन बीरेन्द्रनगरमा वृहत सत्संग सम्पन्न भएको छ ।

भक्ति पर्वको असरमा आयोजित सत्संगमा सहभागि साध संगतलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सन्त निरंकरी मिशनको स्थापना बाबा बूटा सिंह जी महाराजले सन् १९२९ मा वर्तमान पाकिस्तानको पेशावरमा गर्नु भएको थियो । त्यसपछि १९४३ देखि १९६२ सम्म बाबा बूटन सिंहले यसलाई अगाडि बढाउनु भयो । १९६२ देखि १९८० सम्म बाबा गुरबचन सिंह जीले यस अभियानलाई देश–विदेशमा फैलाउनु भयो र बाबा हरदेव सिंह जी महाराजले १९८० देखि २०१६ सम्म विश्वका अधिकांश देशमा यस ज्योतिलाई विश्वको कुना–कुनासम्म फैलाउनु भयो । जब भारत र पाकिस्तानको विभाजन भएपछि बाबा अवतार सिंह जीले आफ्ना अनुयायीहरुलाई भारतमा लिएर आउनु भयो । आफूसंग आएका सन्तहरुलाई भारतको पहाडगंजमा लिएर जानु भयो ।


यसरी १९४७ मा भारतको पहाडगंजमा बाबा अवतार सिंह जीले सत्संगको शुरुवात गर्नुभयो । यसरी क्रमिक रुपमा अहिले निरंकारी कलोनी रहेको ठाउँमा निकै घनघोर जंगल रहेको थियो । त्यहाँ सन्त निरंकारी मण्डलको स्थापना १९४८ मा गरियो । सन्त निरंकारी मिशनको विस्तार निकै ठुलो रुपमा हुँदै आएपछि निरंकारी सन्त समागम दिल्लीको बुरारी रोडमा आयोजना गरिन थालियो । त्यति बेलापनि बबुलका काँडाहरु, गिलो दलदल जमिन रहेको जंगलले घेरिएको थियो । हात्ती दुब्ने तलाब पनि रहेका थिए । त्यो अवस्थामा सन्तोष सिंह नाम गरेका सन्त थिए जसलाई स्वयं बाबा अवतार सिंह जीले उनलाई बाबा जीको नामबाट सम्बोधन गर्नु भएको छ । ती सन्त हुन सन्तोष ंिसंह जी, जसले त्यस घनघोर जंगलको बीचमा दलदल जमिनमा एक्लै सानो छोपडी लगाएर सेवा गरे । उनीभन्दा अगाडि अनेकौ महापुरुषहरुलाई त्यहाँ सेवा गर्ने अवसर दिइयो तर कोहि टिक्न सकेनन् । तर सन्तोष सिंह जीले आफ्नो जीवनको कुनै प्रवाह नगर्दै रातदिन, घाम–जाडोको रत्तिभर कुनै संकोच नमानेर सेवा गरिरहे ।

सर्प, बिच्छु, जंगली जनावरको पनि कुनै प्रवाह गर्नु भएन । उनले आफूनो पूरा जीवन सत्गुरुलाई समर्पण गरेर भक्ति गरे । आज धेरै वर्ष बिति सक्दा पनि हामी उहाँको नामबाट भक्ति पर्व मनाई रहेका छौ । भक्त प्रह्लाद सत्युगमा, शबरी त्रेता युगमा, द्वापरमा मिरा अगाएत अनेकौं भक्तहरु आए आज उनीहरुको नाम अगाडि छ । भक्ति कहिल्यै मर्दैन । अरुलाई मरिसकेपछि भूतपूर्व भनिन्छ तर भक्तलाई कहिल्यै भूतपूर्व भनिदैन । आज हामीलाई सत्गुरुको कृपाले त्यो भक्तिको अवसरमा प्राप्त भएको छ । भक्तिको नाम प्रभुलाई जान्नु र पाउनु हो । सत्गुरुको कृपाले यस निराकार परमात्मालाई जानेर हामी भक्ति गरिरहेका छौ । भक्ति हामी आफ्नो लागि गरिरहेका छौ, अरु कसैको लागि गरिरहेका छैनौ, उहाँले बताउनु भयो ।

आज संसारमा करोडौं मान्छेहरु बस्ने गर्दछन्, जसमध्येबाट सत्गुरुले हामीलाई आफ्नो शरणमा लिनु भयो, यो हाम्रो ठुलो भाग्य हो । तर हामी काम, क्रोध, लोभ, मोह, अहंकारमा फसेका छौ । यसबाट सच्चा भक्ति सम्भव छैन । सेवा, सत्संग, सुमिरण नै भक्तिको सिंगार हो, यसबाट नै जीवनको मुक्ति सम्भव छ । जुन प्रकारले जुन खाना खान्छौ, त्यो हाम्रो शरीरको लागि हो, शरीरको भोग मेटाउनको लागि खाना खानु नै पर्छ, त्यस्तै प्रकारले सेवा, सत्संग, सुमिरण गरेर भक्ति हामीले आफ्नो लागि नै गर्नु पर्छ । भक्ति दिवसबाट हामीले यहि प्रेरणा लिनु छ, उहाँले बताउनु भयो ।

आज संसारमा जताततै झै–झगडा, मारकाटको सन्देश मात्र सुन्न पाईन्छ, कतैपनि शुभ सन्देश सुन्न पाईदैन तर सत्गुरुको शरणमा आएपछि मात्र सुुकूनको स्वाँस फेर्न सक्छौ, यहाँ शान्ति नै शान्तिको वातावरण पाउँछौ । मानव जीवनमा आइसकेपछि ब्रम्हज्ञानको आवश्यक पर्छ । ब्रम्हज्ञानबाट नै मानव जीवन सफल हुन्छ । ज्ञान त सबै ठाउँमा दिईन्छ तर यो ब्रम्हज्ञान केवल निरंकारी मिशनमा मात्र पाईन्छ । त्यसैले निरंकारी मिशनमा आवद्ध मानव नै ठुला भाग्यमानि हुन, उहाँले प्रष्ट पार्नुभयो ।

संसारमा अनेकौं प्रलोभन दिएर, भ्रममा पारेर मानवहरुको धर्म परिवर्तन गरिहेका छत् तर सन्त निरंकारी मिशनले मानवको धर्म होइन भावना परिवर्तन गरिरहेको छ । हामी सबै मानव भएकाले हाम्रा परमपिता परमात्मा एक छन्, हामी एकका सन्तान हौं भन्ने भावनाको विकास भएपछि हामीमा एकत्व, विश्व वन्धुत्व, प्रेम–नम्रता, सद्भाव आउँछ । यही सत्गुरुको सन्देश हो । यही हाम्रो सोच परिवर्तनको आवश्यकता छ, धर्म होइन, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा बिमला न्यौपाने, पवित्रा एण्ड साथी, शिशिर, तिला, हुपेन्द्र, अमर, जस बहादुर, राधा एवं साथी, अविषेक, गायक तेज बोहरा, नन्द बहादुर, सुर्खेत जिल्ला प्रमुख सहविर थापा, धनमाया, बीरेन्द्रनगर सत्संग भवन मुखी लीला पुरी, सेवादल संचालक बल बहादुर पुरी, मनिसरा, कल्पना, राम बहादुर, सन्त निरंकारी मण्डलका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठक, केन्द्रीय सदस्य तथा क्षेत्रिय सेवादल संचालक बाबुराजा महर्जन, केन्द्रीय सचिव अनिल महर्जन, केन्द्रीय सदस्य दल बहादुर राना, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल र केन्द्रीय सदस्य तथा क्षेत्रिय सेवादल संचालक नर बहादुर बटालाले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन नविना रेग्मीले गर्नु भएको थियो ।

You must be logged in to post a comment.