स्वास्थ तथा सरसफाइ

टीकापुरमा रक्तदान शिविर तथा वृहत सत्संग सम्पन्न

टीकापुर, १३ बैशाख । टीकापुरमा रक्तदान शिविर तथा वृहत सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले रक्तदान गर्नु भनेको कसैको जीवनलाई बचाउनु हो । आज यस्तो महान कार्य सन्त निरंकारी मिशनले गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले मिशनले आध्यात्मिक जागरण मार्फत मानवहरुलाई मानव बनाई रहेको छ । विभिन्न दैवीय प्रकोपमा परेका मानवहरुको सहायत गर्दै आएको छ, यो नै सबैभन्दा महान कार्य हो ।

सामाजिक रुपान्तरण गरेर मानवहरुमा सकारात्मक सोचको विकास गरेर विश्ववन्धुत्व र एकत्वको सन्देशलाई फैलाएर विश्व शान्तिलाई स्थापित गरिरहेको छ, उहाँले बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो कि टीकापुर शहर सुन्दर शहर भएकोले अझै यसलाई सुन्दर बनाउनको लागि कार्यलय, सडकको छेउछाउमा गुलाबका बोटहरु रोपण गरेर टीकापुरलाई गुलाबको शहर भनेर चिनाउने कार्यमा यो संस्थाले पनि गुलाबका बोटहरु रोपेर सहयोग पुरयाएकोमा मिशनलाई धन्यवाद दिनुभयो ।

अहिले टीकापुर क्षेत्रमा मात्र नभएर पूरा देशमा नै टीकापुरको पक्षमा सकारात्मक धारणा भएकोले हामी सबै लागेर टीकापुरका जन्मदाता स्व. खडक बहादुर सिंहको सपना सकार हुन लागेको आभस भैरहेको बताउनु भयो । टीकापुरलाई गुलाबको शहर घोषित गरिए यताबाट नयाँ वर्षको दिन मात्र २५००० हजार पर्याटक भित्रिएको बताउनु भयो ।

त्यस्तै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सल्लाहकार श्रीराम काफ्लेले सन्त निरंकारी मिशनले रक्तदानको कार्य २७ अप्रेल १९८० देखि नै गर्दै आएको छ । सत्गुरु बाबा हरदेव सिंह जी महाराजले जब बाबा गुरबचन सिंह जीको हत्या गरिएको थियो त्यति बेला अक्रोसित सन्त–भक्तहरुले ईटको जवाफ पथ्थरबाट दिनुपर्छ भनेर आक्रोश व्यक्त गरेको समय बाबा हरदेव सिंह जीले ‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने मूल सन्देश दिएर रक्तदान कार्यको थालनि गर्नुभयो । आज सारा संसारमा सन्त निरंकारी मिशनका अनुयायीहरुले आफ्नो अनुकूल अनुसार रक्तदान गर्दै आइरहेका छन्, उहाँले बताउनु भयो ।

मिशनको रक्तदान गर्नुको मुख्य उद्देश्य पनि संसारका सबै मानव परिवार एक हुनु पर्छ । जब एक–अर्काको रगत घुलमिल हुन जान्छ भने हाम्रो नाता पनि बलियो हुन जान्छ, हामी सबैको नाता गाँसिन जान्छ र हामी एक–अर्काका प्रिय बन्न जान्छौ । जसबाट ससारमा विश्वन्धुत्वको भावना विकास भएर शान्ति स्थापित हुन जान्छ उहाँले बताउनु भयो ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी कैलालीका जिल्ला उपाध्यक्ष बल बहादुर रावलले कैलाली जिल्लामा संघ–संस्थाहरु मध्ये पहिलो रक्तदान शिविरको आयोजना गर्ने सन्त निरंकारी मण्डल नेपाल नै हो । विश्वका विभिन्न देश लगाएत नेपालमा पनि रगतको अभाव भइरहेको बेला सन्त निरंकारी मिशनले समय–समयमा रक्तदान गरेर थुप्रै मानवहरुको जीवन बचाई रहेकोमा धन्यवाद दिनुुभयो ।

सन्त निरंकारी सत्संग भवनका मुखी महादेव भण्डारीले सत्गुरु बाबा गुरबचन सिंह जीको हत्या भइसकेपछि बाबा हरदेव सिंह जीले मानव एकतामा जोड दिनको लागि रक्तदान शिविरको आयोजना गरिएको बताउनु भयो ।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटी टीकापुरका सभापति दत्त विष्ट, कोषाध्यक्ष तथा निरंकारी सेवादल लाल बहादुर रावल, सन्त निरंकारी मण्डल नेपालका पूर्व सचिव तथा पत्रकार दुर्गा प्रसाद भण्डारी लगाएका सेवादल जवान तथा साध संगतको उपस्थिति रहेको थियो । रक्तदान शिविरमा ४० जना सन्त महापुरुषहरुले रक्तदान गरेका थिए ।

टीकापुरमा वृहत सत्संग सम्पन्न
टीकापुर, १३ बैशाख । रक्तदानको साथै टीकापुर सत्संग भवनमा सन्त निरंकारी मण्डलका ज्ञान प्रचारक नवल सिंह बोहराको प्रमुख आथित्यमा विशाल सत्संगको पनि आयोजना गरिएको थियो ।
उक्त सत्संगमा सहभागि साधसंगतलाई सम्बोधन गर्दै ज्ञान प्रचारक नवल सिंह बोहराले निरंकारी मिशन के हो र यस मिशनमा कहिलेदेखि मानव एकता दिवस मनाईदै आइएको छ, त्यसमाथि प्रकाश पार्नु भएको थियो ।

बाबा गुरबचन सिंह जी महाराजले आफ्नो जीवनको बलिदान दिएर पनि मिशनलाई अगाडि बढाउनु भयो । उहाँले समाजमा रहेका विभिन्न कुरुती र विसंगतीलाई उखल्न मंसुरी कन्फ्रेन्सको आयोजना गर्नुभयो । मिशनको व्यवस्थापिकिय ढाँचाको विकास गर्दै दिनरात नभनिकन मिशनलाई देश–विदेशमा फैलाउनुभयो, उहाँले प्रष्ट पार्नुभयो ।

सत्संंग कार्यक्रममा विभिन्न वक्तहरुले मानव एकता दिवसमाथि गहिरो प्रकाश पारेका थिए भने मानव एकता दिवसलाई समेटिएर भजन वा कविता पाठ पनि गरिएको थियो । कार्यक्रमको संचालन लाल बहादुर रावलले गर्नुभएको थियो ।