राजनीति

‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति हो : डा. बाबुराम भट्टराई

बिज्ञापन

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेको छ ।

नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए ।
    
मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको बताउँदै उनले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति रहेको बताए । अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औंल्याए ।
    
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले देश, संविधान र लोकतन्त्र जोगाउन वाम–लोकतान्त्रिक गठबन्धनको भूमिका महत्त्वपूर्ण रहेकाले आसन्न निर्वाचनमा लोकतन्त्र र संविधान पक्षधरलाई जनताले विजयी गराउने बताए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८(२) का उम्मेदवार अमिन पाण्डेले संविधानको रक्षा गरी प्राप्त उपलब्धि जोगाउन गठबन्धन गरिएको बताए । प्रचार कार्यालयमार्फत अब चुनाव केन्द्रित प्रचारका काम गरिने कांग्रेस नेता लक्ष्मीराम शर्माले बताए ।

बिज्ञापन
बिज्ञापन