राजनीति

नारायणकाजीको खुलासा: एमसीसी पारित हुनुअघि ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थियौं

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन दलभित्रको चुनावी तालमेल आफूहरुको इच्छा नभएर बाध्यात्मक परिस्थितिको उपज भएको बताएका छन् ।

आगामी चुनावमा पनि कम्युनिष्ट एकताका लागि आफूहरुले पहल गरेको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण त्यो सफल नभएको उनले गुनासो गरे ।

माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले एमसीसी असफल बनाउने हो भने ओलीलाई फेरि प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्डले गरेको खुलासासमेत गरे । तर, ओलीले त्यसलाई पनि अस्वीकार गरेको उनको भनाइ थियो ।

श्रेष्ठले भने, ‘एमसीसी पारित हुनुअघि नेकपा एमालेको केपी ओलीसहितको टोलीसँग वार्ता गर्न हामी गयौं । हामीले नै प्रस्ताव राख्यौं, एमसीसी असफल गर्न साथ दिनुस् । ओलीले हिजो एमसीसी पारित गर्नुपर्छ नै भन्या हो । तर, अब राष्ट्रियताको मुद्दामा फेरि हामी मिलौं भनेर भनेका थियौं । एमसीसी असफल भएपछि गठबन्धन टुट्छ, त्यसपछि तपाईं नै फेरि प्रधानमन्त्री हुनुस् भन्नेसमेत हाम्रो प्रस्ताव थियो । अनि, वाम तालमेल गरेर चुनाव जाउँ भनेर पनि आग्रह गरिएको थियो । तर, ओलीजी एमसीसी असफल बनाउन तयार हुनुभएन ।’

बिज्ञापन

श्रेष्ठका अनुसार उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु थिए । यस्तै माओवादीबाट अध्यक्ष प्रचण्ड र आफूसहितका केही नेताहरु रहेको उनले बताए ।

श्रेष्ठले पछिल्लो समयमा पनि प्रतिनिधिसभा विघटनमा आफूले गल्ती भएको भनेर स्वीकार गरेर आउँदा एमालेसँगै सहकार्य गर्ने पक्षमा आफूहरु रहेको बताए । उनले थपे, ‘यो गठबन्धनमा जानु हाम्रो इच्छा नभएर बाध्यता हो । अन्यथा हामी त कम्युनिष्ट गठबन्धनकै पक्षमा थियौं ।’

उनले अहिलेको चार दलीय गठबन्धनका थुप्रै सीमा र अप्ठेराहरु रहेको उल्लेख गरे । चार पार्टी भए पनि व्यवहारमा ६ पार्टीको गठबन्धन जस्तो भएको उनले टिप्पणी गरे ।

‘कांग्रेस एउटा पार्टी भए पनि व्यवहारमा तीनवटा जस्तो छ । देउवाजी कहिले रामचन्द्रजीसँग कुरा गर्नुपर्छ भन्नुहुन्छ, कहिले शेखर कोइराला र गगन थापासँग सल्लाह गर्नुपर्छ भन्नुहुन्छ । यो गठबन्धन ६ पार्टीको जस्तो भयो ।’

तैपनि सीट बाँडफाँटमा आधारभूत सहमति भएको भन्दै उनले खुशी व्यक्त गरेका छन् ।

बिज्ञापन
बिज्ञापन