Sudur Pradesh News

पाँच महिनापछि मार्तडी पुग्यो बस

बिज्ञापन

बाजुरा, कात्तिक १० गते । गत असारको पहिलो साताबाट बल्देमा रोकिँदै आएका बस पाँच महिनापछि बल्ल सदरमुकाम मार्तडीमा पुगेका छन् । साफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बल्दे अम्कोट सडक पहिरोले अवरुद्ध हुँदा बस असार महिनादेखि बूढी गङ्गा नगरपालिका –२ को बल्देमै रोकिँदै आएका थिए । 

बिज्ञापन

सडक डिभिजन कार्यालय अछामले, बल्दे अम्कोट सडकमा गएको पहिरो पन्छ्याएपछि बल्ल पाँच महिनापछि  बस सदरमुकाम मार्तडीमा पुगेका हुन् । अम्कोट बल्दे सडकलाई स्थायी रुपले सुचारु गर्ने नसकिएपछि स्थानीयको सहजताका लागि तिहारमा अस्थायी रुपमा सडक सञ्चालनमा ल्याएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले, अम्कोट बल्दे सडकलाई भदौमै सञ्चालनमा ल्याउने गरी काम सुरु गरेको भए पनि लगातार परेको पानीका कारण काम गर्न समस्या आएको थियो । अहिले पानी पर्न रोकियो, काम गर्न सहज भएपछि बल्ल सडक सञ्चालनमा ल्याएको बताउनुभयो ।

बस मार्तडीमा पुगेपछि जिल्लाका बडिमालिका, गौमुल, बूढीनन्दा, स्वाकार्तिक, जगनाथ,हिमाली गाउँपालिका लगायतका स्थानीयहरूलाई धनगढी महेन्द्रनगरबाट सिधै मार्तडीसम्म आउजाउ गर्न सहज भएको गैरी बजारका व्यापारी प्रेम बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, पाँच महिना सम्म अम्कोट बल्दे सडक अवरुद्ध हुँदा उनीहरूले दसैँ तिहारलाई मध्यनजर गर्दै सुदूरपश्चिमको मुख्य व्यापारी सहर धनगढीबाट लत्ताकपडा जुता चप्पल, लगायतका दैनिक उपभोग्य नुन, तेल,दाल, चामल जस्ता खाद्यान्न सामाग्रीलाई मार्तडी  भित्र्याउने निकै सास्ती खेप्दै आउनुपरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले, डिभिजन कार्यालय अछामले, अवरुद्ध सडक सुचारु गर्न विगत लामो समय देखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षाताका कारण सडकको तलमाथि दुबईतिरबाट पहिरो लाग्न नरोकिएपछि अवरुद्ध सडक खुलाउन समस्या भएको थियो । 

उहाँले भन्नुभयो, यती बेला पानी रोकिएपछि डोजरलाई काम गर्न सहज भएपछि बल्ल कात्तिक –९ गतेबाट  बस सदरमुकाम मार्तडीमै पुग्न थालेका हुन् ।

बिज्ञापन