राजनीति

‘प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल १३ दिन मात्र’

बिज्ञापन

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसद्मा दर्ता गरिएको विधेयक अघि नबढ्ने भएको छ ।

बिज्ञापन

विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानुन संशोधन प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान भएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानले विवाद बढाउने भन्दै विधेयक अघि नबढाउने सहमति भएको थियो ।

आइतबार अपराह्न सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रधानमन्त्री देउवाले कानुनमन्त्री शर्मालाई बोलाएर विधेयक अघि नबढाउने निर्देशन दिएका हुन् । प्रतिनिधिसभामा शुक्रबार राति दर्ता भएको केही नेपाल ऐन संशोधन विधेयकमा ‘प्रतिनिधिसभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ’ भनिएको छ ।

प्रदेशसभाका विषयमा पनि यही प्रावधान छ । मंसिर ४ मा हुने आमनिर्वाचनका लागि असोज २ र ३ मा दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने तालिका छ । नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ताअघि सांसद पदमुक्त हुनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।

त्यही कारण प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म रहने आयोगको भनाइ छ । तर सरकारले कानुन संशोधनमार्फत त्यसपछि पनि सांसदको पद कायम गर्न खोजेको थियो । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई कानुन संशोधन गर्न लागिएको रहेछ,’ एक मन्त्रीले भने, ‘संसद्को कार्यकाल निर्वाचन आयोगले तोकेकै मितिमा सकिन्छ । विधेयकमा भनेजस्तो प्रावधान संशोधन हुँदैन ।’

संशोधन विधेयक आइतबारको बैठकमा फास्ट ट्र्याकबाट अघि बढाइएको छ । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले विधेयक परिपक्व हुन लाग्ने पाँच दिनलाई घटाएर एक दिनमा झारेको छ । संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टा समय पनि घटाएर २४ घण्टामा झारिएको छ ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसमेत स्वीकृत भएकाले सांसदहरूले सोमबारसम्म संशोधन हाल्ने समय थियो । ‘चुनावको बेला जनमत गुमाउने गरी सरकारले पेस गरेको विधेयकको विरोधमा गठबन्धनलाई नै असर पर्न सक्ने अनुमान ग¥यौं,’ गठबन्धनको बैठकमा सहभागी एक नेताले भने, ‘सत्तारूढ दलका सांसदले कार्यकाल ल्याउन नहुने संशोधन राखेर विधेयक अघि नबढाउने सहमति भएको छ ।’

प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री शर्माले कानुनी अस्पष्टता हटाउन र अराजकता रोक्न संसद्को कार्यकाल नवनिर्वाचित सांसदको पहिलो बैठकसम्म रहने व्यवस्था गर्न खोजिएको बताएका थिए । कानुनमन्त्री शर्माले संसद्मा बोलेको केहीबेरमा उनलाई देउवाले गठबन्धनको बैठकमा बोलाएका थिए ।

‘यो प्रावधानले सरकारलाई विवादमा पार्ने भयो । निर्वाचन घोषणा गरेर तोकिएकै मितिमा सम्पन्न गर्न आफ्नो गतिमा बढिरहेका बेला अनावश्यक भ्रमले निर्वाचनमा समेत असर गर्ने देखियो,’ एक मन्त्रीले भने, ‘अब समानुपातिकको बन्दसूची बुझाउने दिन नै कार्यकाल सकिन्छ । अब कानुन संशोधन हुँदैन ।’ निर्वाचनसम्बन्धी कानुन संशोधन गर्दा सरकारले निर्वाचन आयोगसँग परामर्श र छलफलसमेत गरेको थिएन ।

आयोगले सरकारको कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘निर्वाचन कानुनको प्रावधान संशोधन गर्न सरकारले विधेयक संसद्मा दर्ता गरिसकेको रहेछ तर हामीसँग छलफल भएन । परामर्श नगरी निर्वाचन कानुन संशोधन गर्न खोज्नुलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

मनोनयनको अघिल्लो दिन सभामुख र उपसभामुखको समेत कार्यकाल सकिने भएकाले सदस्यहरूको पनि स्वतः पद जाने आयोगको भनाइ छ । कान्तिपुरबाट

बिज्ञापन