Climate

अब ठूलो पानी पर्दैन : मौसमविद्

बिज्ञापन

मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा करीब २ हप्ता देशैभर वर्षा भयो । दशैं शुरू भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पुर्‍यायो । बाढी पहिरोजन्य घटना पनि बढे । 

यतिखेर दशैं सकिएर तिहारको संघारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको बताइन् । उनका अनुसार देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने सम्भावना रहे पनि भारी वर्षा हुने देखिँदैन ।

उनले भनिन्, ‘मौसम सुधारिँदै गएको छ । अब, मौसम सुक्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन । केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिने छ ।’

बिज्ञापन

राजधानी काठमाडौं लगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसूस गरिएको छ ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

मौसमी प्रणालीको प्रभावले देशका पहाडी भेगमा बदली तथा प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन