आस्था /आध्यात्म

दिदीबहिनीको विशेष चाड भाइटिका

बिज्ञापन

काठमाडौँ,  कात्तिक १० गते । तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथि भाइटिकाको दिन । आज दिदी भाइ बहिनीको विशेष दिन विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान भोजन खुवाउने र दिदी बहिनीहरूलाई उपहार वा दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ । 

बिज्ञापन

भाइटिकाको पौराणिक कथा अनुसार परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न जानुभएको थियो । यमुना पृथ्वीमा बस्नुहुन्थ्यो भने यमराज यमलोकमा बस्थे ।

त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाए । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चक अवधि अर्थात् पाँच दिनसम्म यमराज यमुना कहाँ बसे । यसरी भाइटिकाको दिन यमुनाले दाजुलाई पूजा गरी दाजुसँग आशीर्वाद लिई । त्यही बेलादेखि तिहार मनाउन थालिएको हो भन्ने किम्बदन्ती रहेको पाइन्छ । 

संस्कृतिविद् हरिराम जोशीका अनुसार भाइ पूजा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी सबैको एकत्वको प्रतीक हो । जसले माता पृथ्वीलाई अझै सुन्दर, सुरम्य एवं सौभाग्यकी तुल्याउने गर्छ । “यस पूजा पर्वमा दिदी बहिनीहरूले आफ्ना दाजुभाइहरूलाई मानेर तिनीहरूको पूजोपासना गर्ने गर्दछन्,” उहाँ भन्नुहुन्छ, “यसैअनुरूप दाजुभाइहरूले पनि आफ्ना दिदी बहिनीहरूको पूजोपासना गर्ने गरेमा यसको महिमा अझ बढ्ने सुनिश्चित छ ।”

उहाँका अनुसार यसरी पर्वका पाँच दिनलाई यम पञ्चकको संज्ञा दिई माता पृथ्वी तथा तिनका सम्पूर्ण सृष्टिलाई अमरत्व प्रदान गरिने विश्वासको पर्वको रूपमा भाइतिकालाई लिने गरिन्छ । यो पर्वको समयमा माता पृथ्वीले सम्पूर्ण जगतलाई नै ‘स्वाँ’ अर्थात् फूलै फूलको रसले सुवासित तुल्याइने हुँदा यस पर्वलाई स्वाँति चाडको पनि भनिने उहाँ बताउनुहुन्छ । 

“देव, दानव एवं मानव सबै उही आमाबुबाका सन्तान हुन् । त्यसैले तिनीहरू सबै भाइ भाइ रहन्छन् र समान रूपमा माया, सद्भाव र पूजा गर्ने गरिन्छ जसले भाइटिकाको अर्थ प्रस्तुत गर्ने गरेको पाइन्छ,” उहाँले भन्नुभयो । 

यसबाहेक तिहारको अन्तिम दिन भाइटिकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट गराउने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा समेत दिने गरिन्छ ।

भाइटिकाका दिनमा दिदी बहिनीले दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको पनि सांस्कृतिक महत्त्व रहेका छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै फिका हुँदैन र दूबो सधैँ हरियो रहन्छ । 

आजको दिन यमराजको आह्वान गर्ने, बिमिरो, भोगटे, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, सयपत्री फूल, सेल रोटि राखेर आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्दै हर्षउल्लासका साथ तिहारको अन्तिम दिन मनाउने चलन रहेको छ ।

बिज्ञापन