December 1, 2022

मालिका समाचार

देशकाे ऐना

कुन डेंगीले ज्यान लिँदै छ, नेपालमै परीक्षण गर्ने तयारी

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कुन प्रकारको डेंगी-सेरोटाइप फैलिइरहेको छ भन्ने बुझ्न परीक्षण गर्ने भएको छ।

महाशाखाका भेक्टर बर्न डिजिज प्रमुख डा. गोकर्ण दाहालका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट सेरोटाइप पत्ता लगाउन चाहिने रिएजेन्ट पठाउँदै छ। “केही दिनअघि डब्लूएचओलाई रिएजेन्ट प्रदान गर्न आग्रह गरेका थियौं, जसको स्वीकृति पाएर आज आइपुग्छ,” उनले भने।

विज्ञापन
विज्ञापन

सेरोटाइप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातैवटा प्रदेशबाट नमुना संकलन गरिरहेको छ। अहिलेसम्म २५० वटा नमुना संकलन भइसकेको उनले बताए। उनका अनुसार सेरोटाइप पत्ता लगाउन सातै वटा प्रदेशबाट ३५० वटा नमुना संकलन गरिँदै छ।

यसका लागि डेंगी देखिएका सबै नमुनालाई संकलन गर्न मिल्दैन। “एनएस-१ पोजिटिभ भएका नमुनालाई मात्र संकलन गरिरहेका छौं,” डा. दाहालले भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका पूर्व प्याथोलोजिस्ट डा. हरिशचन्द्र उप्रेतीका अनुसार डेंगी संक्रमण भएको शुरुआती अवस्थामा एनएस-१ परीक्षण गरिन्छ। लक्षण देखिएको एकदेखि सात दिनसम्म यो परीक्षण गरी डेंगी संक्रमण भएको पत्ता लगाउन सकिन्छ।

यसका लागि सबै प्रदेशमा नमुना संकलन भइसकेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट नमुना ढुवानी भइरहेको छ। नमुना र रिएजेन्ट प्राप्त भएको एक हप्ताभित्रै यसको नतिजा आउने ईडीसीडीले जनाएको छ।

सन् २००४ देखि नेपालमा देखिन शुरू गरेको डेंगी संक्रमण सन् २०१९ सम्म पुग्दा १७ हजार ९९२ जनामा संक्रमण भएको ईडीसीडीको तथ्याङ्क छ। त्यतिवेला डेन भी-१ र डेन भी-२ ले बढी संक्रमण गरेको थियो।

डेंगी चार प्रकारको हुने डा. हरिशचन्द्र उप्रेती बताउँछन्। एक व्यक्तिलाई चार वटै प्रकारका भाइरसले संक्रमण गर्न सक्छ। एक प्रकारको भाइरसको संक्रमणबाट निको भएपछि त्यसको सेरोटाइपबाट जिन्दगीभर लड्न सक्ने क्षमता विकास हुन्छ। तर, अर्कै प्रकारको सेरोटाइपबाट संक्रमण भए स्वास्थ्य अवस्था जटिल हुँदै जान्छ।

डब्लूएचओका अनुसार नेपालमा हरेक दुईदेखि तीन वर्षमा डेंगीको प्रकोप बढेको पाइएको छ। हाल ३८ हजार ९१८ जनामा संक्रमण देखिएको छ भने ४५ जनाको मृत्यु भइसकेको छ।

डेंगी प्रकोपका रुपमा फैलिइरहेका वेलामा कुन सेरोटाइपका कारण संक्रमण र बिरामीको मृत्यु भइरहेको छ भन्ने अध्ययन नभएको डा. उप्रेतीले बताए। सरकारी प्रयोगशालामा सामान्य रुपमा डेंगी पत्ता लगाउने र यसको उपचारमा ध्यान दिइएको छ। नीजि प्रयोगशालाले पनि सेरोटाइप पत्ता लगाउन पहल गरेका छैनन्।

विरामीको उपचारमा भने सेरोटाइपको कुनै महत्व नभएको इपिडिमियोलोजीका डा. दाहाल बताउँछन्। पछि रोग नियन्त्रण गर्न सहज होस् र दशैभरि कुन भाइरस बढि फैलिएको छ भन्ने सान्यतया बुझ्नका लागि परीक्षण गर्न लागिएको उनको भनाइ छ।

गर्मीयाम सकिएसँगै डेंगीको प्रकोप कम हुनुपर्ने हो। तर, डेंगीको प्रकोप घटेको छैन। यसको कारण र कुन सेरोटाइपले डेंगी बढाउनमा योगदान पुर्‍याइरहेको छ भन्ने बुझ्न सेरोटाइप परीक्षण अतिआवश्यक रहेको डा. उप्रेतीले बताए।

“सरकारले नेपालको इपिडिमियोलोजी प्रोफाइल राख्न, यस विषयमा अनुसन्धान गर्न तथा जनतालाई यसको जोखिमबारे सचेत गराउन पनि परीक्षणको आवश्यकता छ,” उनले भने, “तर, नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले कोरोना महामारीमा जसरी रोग नियन्त्रण गर्न काम गरेको थियो, डेंगीमा त्यसरी काम गरेको पाइएन।”