सुदूरपश्चिम प्रदेश

धामीझाँक्रीले पुनः डर देखाएपछि महिलाको छाउगोठमै बास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा, पुस ३ गते । पछिल्लो समय बाजुराका अधिकांश महिला महिनावारी भएको बेलामा फेरि छाउगोठ सर्न थालेका छन् । आर्थिक वर्ष २०७७–७८ मा स्थानीय प्रहरी प्रशासन स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्थाले छाउगोठ भत्काउने अभियान सुरु गरेर केही गोठ भत्काएका थिए । सोपछि बाजुराका अधिकांश महिला महिनावारी हुँदा घरमा बस्दैआएका थिए । 

अभियान सुस्ताउँदै गएपछि अहिले महिनावारी भएका महिलालाई धामीझाँक्रीले देउता रिसायो भन्दै डर देखाउन थालेपछि अहिले फेरि छाउगोठमा सुत्न थालेका हुन् । महिनावारी भएका महिलाले घरमा बस्दा गाई भैँसी बिरामी हुने र घरमा पनि अनिष्ट भएको भन्दै पुन धामीझाँक्रीले महिलालाई छाउगोठमै पठाएको भनाइ स्थानीय महिलाको छ ।  

बिज्ञापन

बूढीगङ्गा नगरपालिका –१० बदेडाका मनिसा लुहारले अभियान चलेका बेला महिनावारी हुँदा मात्र घरमा सुत्न पाएको बताउनुभयो । “अहिले अभियान सुस्तायो, धामीझाँक्री पनि रिसाउन थालेपछि छाउगोठमा सुत्न थालेका छौँ” उहाँले भन्नुभयो । 

राम्रो घरमा बस्न र मिठो पोषिला खानेकुरा खान कसलाई पो मन हुँदैन ? जिज्ञासा गर्दै धामीझाँक्रीले भनेकै कुरा घरका सबै अभिभावकले मान्ने गर्नाले समस्या भएको स्थानीय महिलाको गुनासो छ । “म महिनावारी भएर घरमै सुत्दा घरका सबै रिसाउन थालेपछि अहिले छाउगोठमै सुत्न थालेकी छु” उहाँले भन्नुभयो । 

“गर्मीयाममा बाहिर सुते पनि खासैचिसो हुँदैन । अहिले चिसो बढेको छ, छाउगोठमा रातमा धेरै चिसो हुन्छ” उहाँले भन्नुभयो, “के गर्ने चिसो भए पनि देउताकै डरले महिनावारी भएपछि छाउगोठमै सुत्नु पर्ने बाध्यता भएको छ ।”

गाउँमा पढेलेखेका महिला पनि छन्, तर धामीको डरका कारण छाउगोठमा सुत्न बाध्य हुन्छन् लुहारले भन्नुभयो, “यो प्रथा कहिले हट्ला र कहिले यहाँका महिला महिनावारी भएपछि घरमै सुत्न पाउलान ?”

महिला तथा बालबालिकाको कार्यालय, महिला विकास महिला मञ्च लगायतका सरकारी तथा गैरसरकारी संस्थाले २०६७ सालमा बाजुराका ठाउँमा छाउप्रथा मुक्त वडा घोषणा गरेका थिए । तर धामीझाँक्रीका कारण प्रथा कायमै रहँदा समाजमा परिवर्तन हुन नसकेको स्थानीयको भनाइ छ । 

अन्धविश्वासका कारण कैयौँ महिलाले छाउगोठमा सुत्ने र धामीझाँक्रीकै भर परेपछि यहाँका अधिकांश सुत्केरी महिलाले अकालै ज्यान गुमाउन बाध्य हुन्छन् । सङ्घीयता लागु भए पश्चात् स्थानीय सरकारले अहिले गर्भवती महिलाको स्वास्थ्य सुधारमा परिवर्तन ल्याउन गाउँमा आधारभूत स्वास्थ्य संस्था स्थापना गर्नेगरेका छन् । 

२०७८ मङ्सिर २१ गते जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका –४ विच्छ्याकी २० वर्षीया गङ्गा चँदाराको अत्यधिक रक्तस्रावका कारण अकालमै ज्यान गयो । चँदाराले गर्भबाट मेरेको बच्चा जन्माइएपछि उहाँलाई अत्यधिक रक्तस्राव भएको थियो । स्वास्थ्य संस्थामा उपचारका लागि नलगेर भूत लागेको भन्दै धामीझाँक्रीसँग उपचार गराउँदा उहाँको ज्यान गएको थियो ।

२०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका –९ को पाण्डुसैनको  अगाउँपानीमा रहेको छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो । यो घटना भएसँगै गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरेसँगै बाजुरामा छाउगोठ भत्काउने अभियान सुरु भएको थियो ।

बूढीगङ्गा नगरपालिका –९ बासुरेका मण्टाका धामी मङ्गल गिरीले धामीहरू रिसाएर भन्दा पनि महिला आफै डरले छाउगोठमा सुत्नेगरेको बताउनुभयो । 

छाउगोठ निर्माण भएका ती ठाउँमा पुगेर छाउप्रथा सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।