रानाथारु समुदायको होलीको अन्तिम दिन, खखडेहरा मनाइदै

धनगढी : कैलाली र कञ्चनपुरका आदिवासी राना समुदायमा मनाइने होरी (होली) पर्व आज मंगलवार विधिवत् रूपमा सकिएको छ। अन्य समुदायले १/२ दिन मात्रै मनाइने होली रानाथारु समुदायले आफ्नो संस्कार अनुसार ३८ दिन मनाउछन्।
होरीको अन्तिम दिन आज भव्यताका साथ खखडेहराको रूपमा मनाउँदै होरीको विधिवत् समापन गरेका हुन्।
रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमल रानाका अनुसार रानाथारु समुदायमा चालु वर्षको माघ २२ गते पूर्णिमाको रातिदेखि होरी सुरु भएको हो। २ चरणमा होरी मनाउने प्रचलन रहेको यो समुदायले पहिलो चरण अन्तर्गत माघ पूर्णिमा (२२ गते) देखि फागुन पूर्णिमा (२२ गते) सम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाएको हो। यसरी एक महिना ८ दिनसम्म यो समुदायमा होरी मनाउने प्रचलन रहिआएको हो।

माघ पूर्णिमाको राति गाउँको दक्षिणी सिमानामा पूजापाठ गरेर त्यहाँ ७ ओटा कन्डा (गुइँठा) छोड्छौ, त्यसपछि होरीको सुरुवात हुन्छ, फागुन पूर्णिमा नआउन्जेलसम्मको १ महिनाको अवधिमा प्रत्येक रात घर–घरमा गई होरी सम्बन्धी गीत गाउने र सामूहिक रूपमा नाच्ने प्रचलन रहिआएको छ। होरी नाच यो समुदायमा मुख्य मौलिक नाच पनि हो। युवायुवतीहरूले परम्परागत पोसाकमा सजिएर नाच्दा निकै नै हेर्न तथा अध्ययन गर्न लायक रहने बताइन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
