कृषि

टीकापुरमा कृषकको आकर्षक कृषि र पर्यटन योजना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, वैशाख २८ गते । टीकापुर नगरपालिका –१ बनगाउँका किसानहरूले सामूहिक कृषि खेतीसँगै आकर्षक पर्यटन व्यवसायको योजना सुरु गरेका छन् । समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना नाम दिइएको कार्यक्रममा स्थानीय किसानले पाँच बिघा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेका हुन् । 

यससँगै दश कोठा भएको फार्म हाउस र रेष्टुरेन्ट खोल्ने तयारी गरिएको किसानहरूको भनाइ छ । परियोजनालाई सफल बनाउन एक जना स्नातकोत्तर कृषि विज्ञ, दश जना स्थानीय कृषक कर्मचारीले दैनिक काम गर्दैआएका छन् । एक सय जना किसान परिवार जोडिएका छन् । 

बिज्ञापन

परियोजना सञ्चालन गर्न हरेक किसानबाट २० हजारका दरले रुपियाँ उठाएर तरकारी खेती सुरु गर्दा १५ लाख लगानी भएको छ । पाँच बिघामा तरकारी फल्न थालेको छ । रेष्टुरेन्ट सञ्चालनको तयारीमा छ भने दश कोठे आवास भवन बनाउन बाँकी छ । फार्ममा पोखरी बनाइँदैछ, त्यहाँ माछा पालिने र वरपरबाट जिउँदै माछा ल्याएर पोखरीमा राखी ग्राहकलाई मागअनुसार उपलब्ध गराइनेछ । 

‘कृषि सँगसँगै पर्यटन व्यवसाय गर्ने उद्देश्यले परियोजना सुरु भएको छ’ कृषि विज्ञ कृष्ण न्यौपानेले भन्नुभयो, “थारु समुदायको संस्कृतिअनुसारका छाप्रोमा रेष्टुरेन्ट र भान्सा बनाउँदैछौं । थारु संस्कृतिलाई संरक्षण गर्दै त्यसलाई आर्थिक आयसँग जोड्ने लक्ष्य राखिएको छ ।’ कृषिसँगै पर्यटन अन्य ठाउँमा परीक्षण गर्दा सफल भइसकेकाले टीकापुरमा पनि सुरु गरिएको न्यौपानेको भनाइ छ । 

परियोजनाले यसै सिजनको तरकारी खेतीबाटै लागत र फार्महाउस बनाउने खर्च उठाउन सकिने प्रक्षेपण गरेको छ । पाँच बिघाको कृषि फार्ममा काँक्रो, बोडी, टमाटर, लौका, खुर्सानीका पाँचवटा ब्लक छन् । बजार माग हेरेर तरकारी खेती गरिएकाले बजारको समस्या नहुने कृषक परशुनारायण चौधरीले बताउनुभयो । 

चौधरीका अनुसार प्रतिबिघा १७ हजारका दरले पाँच बिघा जग्गा भाडामा लिएर खेती भइरहेको छ भने थप पाँच बिघा थप गर्ने योजना छ । यहाँ १० कक्षाभन्दा माथि पढेका किसानलाई कृषि प्राविधिक बनाउन ६ महिनाका तलबसहितको प्रशिक्षण भइरहेको छ । ‘बिहान क्याम्पस जान्छौँ, दिउँसो चार घण्टा खेती गर्ने प्रविधि सिक्छौँ, प्रशिक्षार्थी कृषक अनुसा चौधरीले भन्नुभयो, ‘तलब पनि पाउने भनेको छ, यहाँ सिकेको कुरा आफ्नो बारीमा पनि प्रयोग गर्दछौँ ।’

टीकापुरलाई कृषि पकेट र कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाले काठमाडौंबाट विज्ञ खोजेर ल्याएको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले बताउनुभयो । 

‘थारु कृषकहरू कृषि पर्यटनमा जोडिने र संस्कृतिको पनि संरक्षण हुनेछ, यो सफल भएमा अन्य ठाउँमा पनि बिस्तार गरिनेछ’ नगरप्रमुख थारुले भन्नुभयो, “प्रविधियुक्त र अग्र्यानिक खेती गर्ने लक्ष्य हो, यसअघि किसान लगानी गर्ने तर नाफा नभएमा लगानी डुबाएर भाग्ने अवस्थाको अन्त्य गर्छौँ ।’ नगरपालिकाले तरकारी पकेटक्षेत्र बिस्तारमा गर्ने लगानीबाट यस परियोजनालाई सहयोग गर्ने नगरप्रमुख थारुको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।