राष्ट्रिय समाचार

सरकारसँग रुसले माग्यो सहयोगका लागि १३ परियोजनाको प्रस्ताव, रेलवेदेखि सडकसम्म

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । रुसले नेपाल सरकारसँग १३ वटा परियोजनाको प्रस्ताव आह्वान गरेको छ । रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुनसक्ने रेलवेदेखि सडकसम्मका योजनाको विस्तृत परियोजना प्रस्ताव माग गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीबीचको भेटवार्तामा विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माण देखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउने लगायतका परियोजना रहेका छन् ।

बिज्ञापन

वैशाख ६ गतेदेखि ११ गते सम्म अध्यक्ष तिमिल्सिनाको रुस भ्रमणका क्रममा रुसको उपल्लो सदन फेड्रल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोका बिचमा भएको छलफलमा विभिन्न परियोजना अघि बढाउने विषय उठेका थिए ।

नेपाल स्थित रुसी दूतावासले राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई मे ४ मा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरू अघि बढाउन आग्रह गरेको छ ।

रुसले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र काठमाडौंमा मस्को रेलवे सँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीयस्थल पोखरा देखि नजिकका पर्यटकीयस्थलहरुलाई जोड्ने पोखरा रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ ।

पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने पोखरा रिडी सडकको लागत झण्डै ४ अर्ब रहेको छ । अध्यक्ष तिमिल्सिनाको प्रस्ताव अनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखिएको छ । यो सडक पोखराको पामेबाट पर्वतका ६ वटा पालिका हुँदै गुल्मीको रिडी सम्म पुग्ने दोहोरो साइकल लेन सहित निर्माण गरिने छ।

यसैगरी काठमाडौं र पोखरामा दुई वटा बालबालिकाको क्यान्सर सम्बन्धी उपचार गर्ने अस्पताल निर्माण गर्न पनि रुसले चासो देखाएको छ ।

उक्त अस्पतालमा प्रारम्भिक चरणमा रुसी डाक्टरहरू उपलब्ध गराउने र सो सम्बन्धी अनुभव नेपाली विशेषज्ञलाई हस्तान्तरण गर्ने प्रस्ताव रुसले गरेको छ ।

अहिले नेपालबाट वार्षिक १८ जना विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा चिकित्सा र इन्जिनियरिङ विषय अध्ययनका लागि वार्षिक १ सय ५० देखि २ सय विद्यार्थीलाई छात्रवृत्ति कोटा उपलब्ध गराउन खोजेको छ ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्निसेन्को बिच भएको छलफलमा नेपालमा जिटुजी मार्फत रासायनिक मल र गहुँ निर्यात गर्न रुसले चासो देखाएको थियो ।

रुसले रासायनिक मल र गहुँ बाहेक पेट्रोलियम पदार्थ पनि प्रत्यक्ष रूपमा उपलब्ध गराउने प्रस्ताव मागेको छ ।

यस्तै रुसले नेपाल सँग मस्कोबाट सिधा हवाई उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारी साधनहरुको बिक्री गर्न पनि चासो राखेको छ ।

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. बेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शिक्षा मन्त्री अशोक राई, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुलाई समेत परियोजना कार्यान्वयन गर्नका लागि प्रस्ताव तयार गर्न आग्रह गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।