राष्ट्रिय समाचार

सन्दीपको दक्षिण अफ्रिका यात्रामा अन्योल, मंगलबार पनि मुद्दाको सुनवाई नभए सम्भावना कम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार बेलुकी दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । तर, टीमका प्रमुख खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने वा नजाने अझै टुंगो लाग्न सकेको छैन ।

जिल्ला अदालतमा विचाराधीन मुद्दामा एकपछि अर्को सुनवाई स्थगित हुँदा सन्दीपको दक्षिण अफ्रिका र जिम्वावे भ्रमण अन्योलमा परेको हो । फैसलाको चरणमा पुगे पनि जिल्ला अदालतका न्यायाधीशहरुले विभिन्न बहानामा लगातार पेशी सारिरहेका छन् ।

बिज्ञापन

पछिल्लोपटक गत आइतबारका लागि तोकिएको पेशीमा न्यायाधीसले पहिले आइसकेका कागजातहरु फेरि दोहोर्याएर पेश गर्न आदेश दिँदै सुनवाई स्थगित गरे । अर्को पेशी आगामी मंगलबारलाई तोकिएको छ ।

अदालतमा मुद्दाको सुनवाई र फैसलामा अनावश्यक बिलम्ब हुँदा सन्दीप निराश बन्दै गएको निकटस्थ स्रोतले बतायो । मंगलबारको सुनवाई समेत स्थगित भएको खण्डमा उनी दक्षिण अफ्रिका नजाने मनस्थितिमा रहेको स्रोतको दाबी छ । हिजो नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग भएको छलफलमा पनि उनले आफ्नो गुनासो राखेका थिए ।

‘मुद्दा किनारा नलाग्दा निरन्तर मानसिक दवाव र तनावका बीच मैदानमा पफर्मेन्स गर्न गाह्रो हुन्छ,’ सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

क्यानले भने सन्दीपलाई जसरी पनि दक्षिण अफ्रिका लैजानका लागि प्रयास गरिरहेको छ । क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीप नेपाली टिमको अत्यन्त महत्वपूर्ण खेलाडी भएकाले उनलाई टिममा छुटाउँदा महंगो पर्न सक्ने बताए ।

‘हाम्रोतर्फबाट सबै पहलहरू भइरहेका छन्, आशा छ कि उनी दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमणमा जाने टिममा हुनेछन्,’ उनले भने ।

तर, धेरै कुरा मंगलबारको पेशीमा निर्भर रहने देखिएको छ । यदि त्यस दिन सुनवाई अघि बढ्यो भने सन्दीप नेपाली टीममा उपलब्ध हुनेछन् । भएन भने उनलाई दक्षिण अफ्रिका नजान कानूनी टीमले पनि सल्लाह दिएको छ ।

फौजदारी मुद्दामा पेशीको २१ दिनभित्र अदालतमा आरोपी आफैं उपस्थित भएर तारेख बुझ्नुपर्ने हुन्छ । अन्यथा अदालतमा राखेको धरौटी जफत हुने प्रावधान छ । सन्दीप २० लाख रुपैयाँ धरौटी राखेर छुटेका हुन् । दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण झण्डै डेढ महिनाको छ । डेढ महिनासम्म अदालतमा उपस्थित नहुँदा २० लाख धरौटी जफत हुने भएकाले प्राविधिक कठिनाइ भएको हो ।

सन्दीपका तर्फबाट बहस गरिरहेका अधिवक्ता सरोज घिमिरेले सन्दीपको दक्षिण अफ्रिका जाने वा नजानेबारे मंगलबार नै निधो हुने बताए ।

‘मंगलबार पनि सुनवाई भएन भने हामीले दक्षिण अफ्रिका नजान उहाँलाई सुझाव दिएका छौं,’ उनले भने, ‘विदेशबाट २१–२१ दिनमा नेपाल फर्किएर अदालत हाजिर हुने कुरा अव्यवहारिक हुनुका साथै यसले अनावश्यक मानसिक दवाव मात्रै थपिन्छ ।’

दोस्रो विकल्प भनेको सन्दीप दक्षिण अफ्रिका नगएर सिधै जिम्बाबे जाने हो । जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालको पहिलो अभ्यास खेल ३० जेठमा छ ।

उनी यदि सिधै जिम्बाबे गए भने २१ दिनभित्र प्रतियोगिता सकेर स्वदेश फर्किन भ्याउँछन् । तर, मुद्दाको चाँडो छिनोफानो नभएको खण्डमा सन्दीपले जिम्बाबे भ्रमणबाट पनि हात झिक्नसक्ने निकटस्थको भनाइ छ ।

सन्दीप निटकस्थ स्रोत भन्छ, ‘मुद्दा टुंगिएमा उहाँले पनि तनावमुक्त भएर खेल्न सक्ने स्थिति हुन्छ । नत्र कहिलेसम्म आँशु पिएर देशका लागि मैदानमा भिडिरहने ?’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।