जलहरीबारे अभिव्यक्ति रेकर्डबाट हटाइनु विडम्बना- शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्मा शंकास्पद अनियमिततासम्बन्धी उठेको विषय रेकर्डबाट हटाउनु विडम्बना भएको बताएका छन् ।
डा. कोइरालाले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै दलका शिर्ष नेताहरु बसेर यस्तो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्नु विडम्बना भएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा हालिएको सुनको जलहरीमा अनियमिततासम्बन्धी दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएकामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
सांसद दाहालको उक्त अभिव्यक्ति पछि शुक्रबार नेकपा एमालेका सांसदहरुले अनियमितता भएको प्रमाणित गर्न भन्दै संसद अवरुद्ध पारेका थिए ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार जलहरीसम्बन्धी भनाइ संसद्को रेकर्डबाट हटाइएको थियो।
संसद सचिवालयले पनि नेताहरुको निर्णय अनुरुप कार्य गरेको भन्दै डा. कोइरालाले आपत्ति जनाएको हो । नेताहरुको सहमतिमा केही कुरा संसद्को रेकर्डबाट हटे पनि देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत् पनि छन् भन्ने कुरा बुझ्न कोइरालाले सचेत गराएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
