राष्ट्रिय समाचार

अमेरिका लैजाने भन्दै कान नसुन्ने र बोल्न नसक्ने ५० भन्दा बढी नेपाली युवासँग करिब ४ करोड ठगी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। अमेरिका जान पाउने प्रलोभनमा कान नसुन्ने र बोल्न नसक्ने ५० भन्दा बढी नेपाली युवा ठगिएका छन्। उनीहरूबाट ३ करोड २९ लाख २६ हजार ४ सय ८० रुपैयाँ ठगी भएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ।

हाल अमेरिकामा रहेका टंकराज बस्नेतकै योजनामा उनीहरूलाई ठगिएको दाबी गरिएको छ। प्रहरीका अनुसार ४२ वर्षीय बस्नेत पनि कान नसुन्ने र बोल्न नसक्ने व्यक्ति हुन्।

बिज्ञापन

सांकेतिक भाषा अनुवादक अल्पा ढकाल र बस्नेतकी श्रीमती निर्मला महर्जनलाई सीआईबीले पक्राउ गरेको थियो। बस्नेतले भने बमोजिम महर्जन र ढकालसहितका व्यक्तिका बैंक खातामा पीडितले पैसा जम्मा गरेका थिए। पक्राउ परेका २ सहित १० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जाहेरवालामध्ये मनोज थापाले मात्र आफू र विभिन्न साथीहरूको एक करोड ३९ लाख ३४ हजार ४ सय रुपैयाँ ढकाल, महर्जन र विभिन्न व्यक्तिको नाममा जम्मा गरेको पाइएको छ।

जाहेरवालाले आफूहरू बस्नेतसँग सामाजिक सञ्जालमार्फत एक वर्ष पहिला सम्पर्कमा आएको बताएका छन्। जाहेरीमा उल्लेख भएअनुसार बस्नेतले आफू अमेरिकाको प्लेनउड स्प्रिङ्सको नेपाली रेस्टुरेन्टमा काम गर्ने बताएको उल्लेख छ।

सोहीक्रममा बस्नेतले पीडितहरूलाई पनि अमेरिका ल्याउने र प्रोफिट स्टक अप्सन टिएफएक्स नामक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेस्टुरेन्टमा काम लगाई दिने प्रलोभन देखाएको जाहेरवालाको दाबी छ।

त्यसबापत एक जनाको जनही ४ लाख रुपैयाँ लाग्ने र मासिक २ हजारदेखि ३ हजार रुपैयाँसम्म कमाई हुने भनिएको थियो।

सोही क्रममा बस्नेतले भिषा प्रोसेसिङ, चिठ्ठीहरू पार्सल गर्न र दूतावासमा पैसा बुझाउन भन्दै रकमहरू माग गरेका थिए। बस्नेतले नै नेपालमा रहेका ढकाल र महर्जनलाई भेट्न भनेकाले उनीहरूसँग आफूहरूले सम्पर्क गरेको जाहेरवालाको दाबी छ।

पक्राउ परेकी ढकालले आफूले सांकेतिक भाषा अनुवादकका रूपमा मात्र काम गरेको र बस्नेतले भनेअनुसार जाहेरवालाका आफन्तहरूसँग कुराकानी गरेको बताएका छन्।

बस्नेतले नेपालमा रहँदा सांकेतिक भाषा प्रशिक्षकका रूपमा काम गर्ने गरेका थिए। त्यही क्रममा जाहेरवालाहरूसँग उनको चिनजान भएको पाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।