राष्ट्रिय समाचार

विधेयक पारितसँगै मिटरब्याजीलाई कारबाही गर्न बाटो खुल्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कठमाडाैं – मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ।

सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो। दुवै सदनबाट पारित विधेयक अब प्रमाणितपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने छ।

बिज्ञापन

विधेयकको प्रकृति नै परिमार्जन गरेर तल्लो सदनले फिर्ता पठाएको भन्दै राष्ट्रिय सभाले केही दिन संशोधन स्वीकार गर्ने वा नगर्ने निर्णय लिन सकेको थिएन। कानुनी र राजनीतिक परामर्शपछि सभाले आगामी दिनमा नजिरका रूपमा नरहने गरी विधेयक संशोधनसहित स्वीकार गरेको हो।

असार २० गते अध्यादेश निष्क्रिय भएपछि संशोधन विधेयक पारित गर्ने वा नगर्ने विवाद भएको थियो। राजनीतिक परामर्शपछि अध्यादेश निष्क्रिय भएपछिका कामकारबाही बचाउ गर्ने गरी असार ३१ गते प्रतिनिधि सभाले विधेयक पारित गरेको थियो। विधेयक पारित हुँदा प्रतिस्थापनको स्वरूप परिवर्तन भएको भन्दै राष्ट्रिय सभाले सन्देश स्वीकार गर्न ढिलाइ गरेको थियो।

यसअघि राष्ट्रिय सभाले असार १५ गते विधेयक पारित गरेको थियो। असार १७ गते विधेयक प्रतिनिधि सभामा पेस भएको थियो। अध्यादेश जारी भएको समयसीमा अनुसार विधेयक असार २० गतेभित्र प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि सदनमा भएको विवादका कारण पारित हुन सकेको थिएन। जसका कारण अध्यादेश निष्क्रिय भएको थियो।

प्रतिनिधि सभाबाट सन्देशसहित पारित भएर आएको विधेयक राष्ट्रिय सभामा अगाडि बढाउने विषयमा सत्तापक्ष र विपक्षबिच मतान्तर भयो। विवादपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको वक्तव्य र वर्तमान अवस्थालाई मध्यनजर गर्दै उक्त विधेयक अगाडि बढाएको बताए। निर्णय प्रक्रियाअघि तिमिल्सिनाले महान्यायाधिवक्तासँग कानुनी राय पनि लिएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।