ढुङ्गाले लागेर जलविद्युत् आयोजनाका एक मजदुरको मृत्यु

पाँचथर । पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो ।
आइतवार दिउँसो १ः४५ बजे ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो । उक्त आयोजनाको सुरुङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएकोे छ ।

प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ । मगर सोही कम्पनीमा आबद्ध भई काम गरिरहेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
