कृषि

सुदूरपश्चिममा ९४ प्रतिशत खेतमा रोपाइँ सकियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेशमा असार सकिएसँगै ९४ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । प्रदेशका नौवटै जिल्लामा गरेर ९३ दशमलव ६५ प्रतिशत खेतमा रोपाइँ सकिएको हो ।

प्रदेशभित्र एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा असार अन्तिमसम्म एक लाख ६३ हजार हेक्टरमा धान खेतीको काम सकिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निमित्त कृषि निर्देशक नरेन्द्र पनेरुले बताए । उनले भने, ‘एक लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । १० हजार हेक्टर बाँकी होला ।’

बिज्ञापन

दार्चुला जिल्लामा भने सबैभन्दा बढी क्षेत्रफलमा रोपाइँ सकिएको छ । दार्चुलामा ९७ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । कैलालीमा ९६ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । कञ्चनपुरमा ९५ प्रतिशत, डडेल्धुरा, बैतडी र बझाङमा ९०–९० प्रतिशत, अछाममा ८७ प्रतिशत तथा बाजुरा र डोटीमा ८१–८१ प्रतिशत रोपाइँको काम सकिएको छ । कैलालीमा ६५ हजार हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

डोटीमा १० हजार ६ सय ७०, डडेल्धुरामा ६ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा ९ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा समेत रोपाइँ गरेर ‘चैते धान खेती’ गरिँदै आएको छ ।

पनेरुले भने, ‘केही क्षेत्रमा रोपाइँ जारी छ । डोटीको तलकोट सेरोमा पनि रोपाइँ जारी छ । तर, धेरै क्षेत्रमा रोपाइ सकिएको छ ।’ सुदूरपश्चिममा कुल एक लाख ७४ हजार सात सय ७६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा पुगेको छ । सिँचाइको सुविधा नभएका क्षेत्रमा रोपाइँमा ढिलो हुने गरेको छ । सुदूरपश्चिमको १० हजार हेक्टर क्षेत्रफलमा साउन महिना सुरु भइसक्दा पनि रोपाइँ भएको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।