मुलुकभर मनसुनी प्रणाली सक्रिय, ५६ जिल्ला ‘रेड अलर्ट’मा

काठमाडौं । मनसुन सकिने बेला आइरहँदा मुलुकभर मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुनी प्रणाली सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लालाई अत्यधिक वर्षाको जोखिममा राखेको छ । विभागले ती जिल्लामा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।
विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म मुलुकका अधिकांश स्थानमा पानी पर्ने र धेरै ठाउँमा छोटो अवधिमै अत्यधिक वर्षा हुनसक्ने जनाएको छ । बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावासँगै न्यूनचापीय प्रणालीका कारण १० देखि १३ असोजसम्म मुलुकभरिको आकाश बादलले भरिने विभागले जनाएको छ । मनसुन सकिने औसत मिति नजिक आइरहँदा पनि यस वर्षको मनसुन सकिने छाँट देखिएको छैन । सामान्यतया नेपालमा २ अक्टोबरमा मनसुन सकिने प्रवृत्ति छ ।

तीन दिनसम्म सक्रिय रहने मनसुन अवधिमा मुलुकका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ भने कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा एवं मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको जोखिम रहेको विभागको भनाइ छ । धान पाकेर थन्क्याउने समयमा सक्रिय हुन थालेको मनसुनका कारण मुलुकभरका किसान प्रभावित हुनेछन् । हावाहुरीसहितको पानीले पाक्न लागेको र फुल्न लागेको धानमा गहिरो असर छोड्नेछ ।
विभागले यस वर्षाले मुगु र हुम्ला दुई जिल्लामा निम्न जोखिम भए पनि अन्य सबै जिल्लामा मध्यमदेखि उच्च स्तरको जोखिम देखाएको छ । विभागले १६ जिल्लालाई मध्यम स्तरको जोखिम र ५६ जिल्लालाई अत्यधिक वर्षाको जोखिममा राखेको छ । विभागका अनुसार कोशी प्रदेशअन्तर्गत झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङ जिल्ला उच्च जोखिममा रहेका छन् । त्यस्तै, मधेस प्रदेशमा सिरहा, सप्तरी, पर्सालाई रेड अलर्टमा राखिएको छ ।
त्यस्तै, बाग्मती प्रदेशमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन् । त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोर्खा, मनाङ पनि वर्षाको जोखिममा रहेका छन् । लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्व, रोल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया वर्षाको जोखिममा परेका छन् । त्यस्तै, कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान उच्च जोखिममा छन् भने सुदूरपश्चिम प्रदेशका डोटी, कैलाली र अछाम जिल्ला यस वर्षाको उच्च जोखिमको सूचीमा परेका छन् ।
विभागले गण्डकी र लुम्बिनीका थोरै स्थान एवं कोशी, बाग्मती, मधेस, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षा हुनसक्ने बताएको छ । आज दिउँसोदेखि नै यस्तो वर्षा हुन सुरू हुने विभागको आँकलन छ ।
यस अवधिमा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना औंल्याइएको छ । विभागले उच्च पानीले बाढीपहिरोको जोखिम निम्त्याउने भएकाले सतर्कता अपनाउन तथा विपद् तयारी गर्न आह्वान गरेको छ ।
तपाइको प्रतिक्रिया
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
