एसइईमा पाँच लाख दस हजार परीक्षार्थी

काठमाडौँ, फागुन २७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो ।
परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन् । विगतका वर्षमा पनि यस्तो देखिएको थियो । एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि केन्द्रबाट गरिने सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

उहाँका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको छ । परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ ।
ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन् । जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
