भोलि मलाई थुनियो भने आन्दोलन झन् निर्णायक भएर जान्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीको आह्वानमा भोलि शान्तिपूर्ण प्रदर्शन हुने बताएका छन् । राप्रपाले हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको उनको भनाइ छ ।आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङदेनले भद्र अवज्ञा र सत्याग्रहका रुपमा आन्दोलन अघि बढाउने बताए । कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई समेत आन्दोलनमा आउन उनले अपिल गरे ।
‘आफ्नो जीवनकालमै देशमा परिवर्तन देख्न चाहने सबैलाई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछु । आफ्नो पार्टीको झण्डा लिएर आउन मन लागे ल्याउन सक्नुहुन्छ, नत्र राष्ट्रिय झण्डा बोकेर आउनुस । कांग्रेस, एमाले, माओवादीमा पनि देशलाई माया गर्नेहरु हुनुहुन्छ । तपाईंहरु आफ्नो पार्टीको झण्डा लिएर आउनुस्’, लिङदेनले भने ।

राज्य पक्षले हिंसा भड्काउन सक्नेमा आफूहरु सचेत रहेको भन्दै उनले जनप्रदर्शनमा हजारौं भोलिन्टियर्सलाई खटाइसकेको जानकारी दिए । कार्यक्रमस्थल ९ बजेबाटै स्वयम्सेवकको नियन्त्रणमा रहने र घुसपैठीहरुलाई ठाउँको ठाउँ आयोजकको तर्फबाट कारवाही गरिने उनले चेतावनी दिए ।
‘यदि मलाई थुनियो भने मबिना पनि आन्दोलन बढेर जान्छ । हाम्रा पार्टीका नेताहरु थुनिँदा आन्दोलनलाई बल पुगेको छ । मलाई राखियो भने झन् आन्दोलन निर्णायक भएर जान्छ,’ लिङदेनले भने ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
