सुदूरपश्चिम प्रदेश

छाउपडी गोठ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्यका लागि सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन आइतवार निर्देशन जारी गरेको छ। 

नगरपालिका अन्र्तगतका केही वडामा अझै छाउपडी प्रथा कायम रही गोठसमेत छन्। आ–आफ्नो वडाभित्रका छाउपडी गोठ निरीक्षण गरी भत्काउन वडा कार्यालयलाई नगरपालिकाले निर्देशन जारी गरेको हो। छाउपडी गोठ नभत्काउने व्यक्तिलाई कानुनी कारवाहीसहित १० हजार जरिवाना गरिने नगरपालिकाले जनाएको छ। दुई दिन अघि वडा नं १ निगालीमा छाउगोठमा बस्ने क्रममा सर्पदंशका कारण २८ वर्षीया कमला दमाईको मृत्यु भएको थियो।

बिज्ञापन

छाउगोठमा दमाईको मृत्यु भएपछि नगरपालिकाले छाउगोठ भत्काउन निर्देशन जारी गरेको हो। ‘२१औँ शताब्दीमा छाउपडी प्रथा रहनु सभ्य सामाज निर्माणका लागि बाधक छ’, नगर प्रमुख हेमराज ओझाले भने, ‘सामाजिक कलङ्कका रूपमा रहेको छाउपडी प्रथा निर्मूल पार्न जस्तोसुकै कठोर कदम चाल्न तयार छौँ।’

नगरप्रमुख ओझाका अनुसार छाउगोठ रहेको वडामा  आज देखिनै नगरपालिकाबाट पत्रसहित टोली खटाइने छ। टोलीले घरघरमा पुगेर निरीक्षण गरी छाउगोठ भत्काउन लगाउने छ। ‘अटेरी गर्नेको सामाजिक सुरक्षा भत्ता रोक्ने र नगरपालिका र वडाबाट प्राप्त सेवा उपलब्ध गराइने छैन’, उनले भने, ‘त्यस्ता व्यक्तिबाट प्रचलित कानुनअनुसार जरिवाना असूल उपरसमेत गर्छौँ।’

त्यो सँगसँगै छाउगोठ निरीक्षणका लागि खटिने टोलीले छाउपडी प्रथा विरुद्ध सचेतना फैलाउने बताइएको छ। यसअघि नगरपालिकाले वडा नं १ कुमगडा क्षेत्रमा चार वटा छाउगोठ भत्काएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।