राष्ट्रिय समाचार

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘घुस डिल’ गरेको अडिओ सार्वजनिक भएसँगै विभिन्न तह तप्काबाट छानविनको माग भइरहेको छ । धेरैले मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरिरहेका छन् ।

सार्वजनिक भएको अडिओका अनुसार मन्त्री गुप्तासँग एक पुरुष र एक महिलाले कुराकानी गरेका छन् । उनीहरुले कास्कीको भूमि आयोगमा खमबहादुर पुनलाई नियुक्त र मालपोत कार्यालय प्रमुखको सरुवा गर्न मन्त्री गुप्तालाई घुसको डिल गरेको अडिओमा सुन्न सकिन्छ ।

बिज्ञापन

मन्त्री गुप्तासँग ‘डिल’ गरेको भनिएका सुजन लामा पोखराका हुन् । जग्गा कारोबारसँग काम गर्ने सुजनले पोखरा लामाचौरमा रहेको लिची गार्डेन बेच्नका लागि मालपोत र भूमि आयोगमा आफ्नो फेबरको मान्छे ल्याउन मन्त्रीसँग घुसको डिल गरेको स्रोतको दाबी छ ।

लामाले भूमि आयोगमा नियुक्त गर्न भनेका खमबहादुर एमाले प्रदेश कमिटी सदस्य हुन् । पुन २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा पोखरा–३२ को वडाध्यक्षमा एमालेबाट उम्मेदवार बनेका थिए । लामा र पुन आदिवासी जनजातिको कार्यक्रमबाट नजिकिएका हुन् ।

खमबहादुरलाई नियुक्त गरे आफुले भनेअनुसारको काम हुने र कुरा पनि नकाट्न देखेपछि लामाले उनलाई भूमि आयोगमा ल्याउन खोजेको स्रोतको दाबी छ ।

लामाले सरुवा गर्न भनिएका व्यक्ति रामचन्द्र अधिकारी हुन् । उनी अहिले जिल्ला मालपोत कार्यालय लमजुङमा कार्यरत छन् । गत वर्षमात्रै उनी कास्कीबाट लमजुङ सरुवा भएका हुन् । अधिकारीलाई कास्की ल्याएर आफुअनुकुलको काम गर्ने सोचाइ लामाको रहेको स्रोतको दाबी छ ।

सुजन नेकपा एमालेनिकट मानिन्छ । नेकपा एमालेको प्रदेश कमिटी सदस्य भइसकेका लामा २०८० को असोजमा भएको प्रदेश कमिटीको प्रथम अधिवेशनमा भने पराजित भए ।

उनी आदिवासी जनजाति खुलातर्फबाट सदस्यमा चुनाव लडेका थिए । लामा अहिले आदिवासी जनजाति महासंघ गण्डकीको महासचिव हुन् । उनी एमालेनिकट अनेरास्ववियुको केन्द्रीय सदस्य समेत भएका थिए ।

उनै सुजनलाई यसअघि पनि १० लाख घुस मागेको समेत आरोप लागेको थियो । लामाले पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्री हुँदा सचिवालयको मान्छे भनेर १० लाख घुस मागेको भन्दै सम्बन्धित व्यक्तिले जानकारी गराएको स्रोतको दाबी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।