दुई वर्षको प्रेम सम्बन्धपछि प्रेमिकाको हत्या

काभ्रेपलाञ्चोक जिल्लामा दुई वर्षको प्रेमपछि प्रेमीले दाउरा प्रहार गरी प्रेमिकाको हत्या गरेका छन्। प्रेमिका टाढिन थालेपछि योजनाबद्ध हत्या गरेको आरोपमा प्रेमी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार रामेछापको मन्थली गाउँपालिका– १३ का ३७ वर्षीय सन्तोष सुनारले बनेपा नगरपालिका– ९ की ३३ वर्षीया शर्मिला उप्रेतीलाई दाउरा प्रहार गरी हत्या गरेका हुन्।

प्रहरी नायब उपरीक्षक घलेका अनुसार शनिबार बनेपा– १३ भगवान थुम्कीस्थित सामुदायिक वनको भिरालो जमिनमा रहेको चिलाउनेको फेदमा अपरिचत महिलाको शव फेला परेको थियो। महिलाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षकको कमान्डमा र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टरको टोलीले अनुसन्धान थालेको थियो। सो क्रममा भुम्लु गाउँपालिका– १ डाँडाखर्क घर भई हाल बनेपा– ९ नयाँ बस्तीमा बस्दै आएका मृतकका बुवाले शवको सनाखत गरेका हुन्।
प्रेमिकाको हत्या गरी बनेपा नगरपालिका– १० इँटाभट्टामा लुकिछिपी रहेको अवस्थामा सुनार पक्राउ परेका छन्। उनले उप्रेतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। मृतक महिला र हत्या अभियोगमा पक्राउ परेका सुनार दुई वर्षदेखि सम्बन्धमा रहेको खुलेको छ। महिलाले विवाह गर्न गरेको अनुरोध आलटाल गरेपछि अर्कैसँग लागेको शंका गरेर दाउराले हानेर हत्या गरेको सुनारले स्वीकार गरेको प्रहरीले बताएको छ। हत्या गरी मृतककै सलले शव झुन्ड्याएर आएको उनले प्रहरीसमक्ष बयान दिएका छन्।
थप अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चार दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
