हुम्लाका धनवीरे कामीको ६ वर्षदेखि गोठमा बास

सिमकोट गाउँपालिका– ८, याङगु गाउँका ५६ वर्षीय धनवीरे कामी ६ वर्षदेखि जिउनका लागि संषर्ष गर्दै आएका छन् । तर, गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण उनी अझै पनि पीडादायक अवस्थामै छाउगोठमा एक्लै बस्दै आएका छन् ।
कुष्ठरोगले उनी शारीरिक रूपले पूर्ण रूपमा अपांग बनेका छन् । उनका हात, खुट्टाका औँला बांगोे छन् भने हिँडडुल गर्नसमेत कठिन भएको छ। गाउँलेको अन्धविश्वासका कारण उनलाई छाउगोठमा राखिएको छ, जहाँ उचित उपचार र हेरचाहको अभाव छ । उनी रातदिन चिसो, भोक र वेदनाबिच जिउन बाध्य छन् ।

परिवारमा उनी जेठो सदस्य हुन् । सबै भाइहरू छुट्टिएर बसेका छन् । उनको हेरचाहका लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका छन् । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरले टाढै छाउगोठमा राखिएको परिवारजन बताउँछन् । ६ वर्षदेखि एकल जीवन बिताइरहेका कामी रातभरि चिसो, दिनभरि घाम अनि भोको पेट, बिरामीले शिथिल भएका छन् ।
कामीले भने, ‘मलाई अझै आशा छ, म फेरि स्वस्थ भएर गाउँ फर्कन सक्छु । मेरो सबैभन्दा ठुलो चाहना भनेको फेरि जिउन र समाजमा स्वाभिमानका साथ बसेर जीवन बिताउनु हो ।’ उनले थपे, ‘म चाहन्छु, मजस्तो पीडित अरूलाई पनि सरकार र समाजले सहयोग गरून्, ता कि उनीहरूको जीवन पनि उज्यालो होस् ।’
सिमकोट गाउँपालिकाका वडाध्यक्ष कमल बुढाले आफ्नो वडामा यस्ता खालका बिरामीको उपचार गर्नको लागि सरोकारवाला निकायहरूसँग आग्रह गरेको बताए ।
उनले भने, ‘हामीले यस्ता बिरामीको सकेको उपचार गरेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार यस विषयमा बैठकमै छलफल भएको हो । बिरामीको उपचारका लागि जनस्वास्थ्य कार्यालयका मेसुलाई निर्देशन गरिएको छ । बिरामीलाई जिल्ला अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार बिरामीको घर मोटरबाटोदेखि एक घण्टा टाढा रहेको छ। ‘एक घण्टाको मोटरबाटो गाडी जानेसम्म बोकेर ल्याउने र त्यसपछि गाडीमा (अस्पताल) उपचारको दायरामा ल्याउने तयारी गरेका छौँ,’ उनले भने, ‘अहिले कुष्ठरोग हो कि बाथरोग हो पत्ता लागेको छैन । अस्पतालमा ल्याएर उपचार परीक्षण गरेपछि मात्रै रोग पत्ता लाग्ने भएको छ । गाउँमा कुष्ठरोग भने तापनि लामो समयसम्म बाथ रोगले गर्दा पनि यस्तो हुन सक्छ । तर, उपचार र परीक्षणले मात्रै थाहा हुने अवस्था छ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
