व्याक्ती बिशेष

जेल जीवनपछि अब गीत संगीतमा जम्ने रेशमलालको उद्घोष

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गीत संगीतमा व्यस्त रहँदा रहँदै राजनीतिमा लागेका रेशमलाल चौधरीले टिकपुर घटनापछि आधा दशक जेल जीवन बिताए । त्यस पछि जेलबाट छुटेका यी गायकले अब आफू गीत संगीतमा व्यस्त हुने बताएका छन् ।

बुधवार बेलुका काठमाडौँमा पत्रकार भेटघाट आयोजना गर्दै उनले आफू अब गीत संगीतमा पनि सक्रिय हुने बताएका हुन् । जीवनको तीन दशक समय गीत संगीतमा बिताएका उनले विगतमा दर्जनौँ गीतहरू आफ्नो स्वर संगीतमा बजारमा ल्याइसकेका थिए ।

बिज्ञापन

मंगलबार मात्र आफ्नो स्वर र संगीतमा गायिका मञ्जु पौडेलसँग मिलेर उनले नयाँ तीज गीत ‘मादल बज्यो कि…’को भिडियो सार्वजनिक गरेका थिए । आफूले लामो समयपछि तीज गीतमा काम गरेको उनले बताएका छन् ।


२०५१ सालदेखि गीत संगीतमा लागेका रेशमको एक दशक अघि सार्वजनिक भएको ‘कता पर्छ भाटु काठमाडौँ सहर…’ निकै लोकप्रिय भएको थियो । यो गीत दुई वर्ष अघि टिकटकमा समेत भाइरल भयो । त्यस पछि यसको नयाँ म्युजिक भिडियो समेत उनले पुन निर्माण गरेर बजारमा ल्याएका थिए । आफ्नो यो गीतले निकै चर्चा पाएपछि दीपक लिम्बुको स्वरमा रहेको एक समयको आफ्नो हिट गीत ‘सागर बरु सुकेर…’लाई दुई वर्ष अघि नयाँ भिडियोको रूपमा उनले फेरी बजारमा ल्याए । यसरी आफ्नो पुराना चर्चित गीतलाई रिमेक गरेर बजारमा ल्याएका उनी अब भने आफ्ना नयाँ गीत नियमित रूपमा दर्शक माझ ल्याउने बताउँछन् ।

पछिल्लो समय आफू राजनीतिको झमेलाबाट वाक्क भएको उनले बताएका छन् । राजनीतिक तनावको बेलामा आफूलाई गीत संगीतले स्फूर्ती दिने गरेको पनि रेशमको कथन छ । राजनीति रूपमा आफ्नो श्रीमती नै आफ्नो विचारसँग विमत भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिक झमेला’bout उनले भने,‘निर्वाचन आयोग मिलायो अदालत मिल्दैन, अदालत मिलायो ठुला पाटी मिल्दैन, ठुला पाटी मिलायो घर मिल्दैन, यस्तै छ अहिलेको राजनीतिक अवस्था । त्यसैले राजनीति भन्दा मलाई त आजकाल गीत संगीत सृजना गर्न नै आनन्द आउँछ ।’

आफू लामो समय जेलमा बस्दा गीत संगीतमा लागेका साथीहरूलाई निकै सम्झिएको रेशमलाल चौधरीले बताए । जेल जीवनमा संगीत सृजना ’bout उनले भने,‘जेलमा बस्दा अध्ययन गर्नुका साथै म गीत संगीत सृजनामा बढी समय तल्लीन हुने गर्दथेँ । मैले जेलमा बस्दा दर्जनौँ गीत संगीत सृजना समेत गरेको छु ।’ आफू जेल बस्दा राज्यले आफूमाथि गरेको पीडामा केन्द्रित भएर संगीतकार रेशमलाल चौधरीले नयाँ गीत सृजना गरेका थिए । उनले बजारमा ल्याएको त्यो गीतको बोल यस्तो थियो,

‘थारु भएकै कारण
अधिकार मागेकै कारण
यो सरकारको कैद खानामा छ
आमा तिम्रो छोरो झ्यालखानामा छ…’

उनी जेल भित्र बस्दा यस्तै आफ्ना दुख पीडाका गीतहरू लेख्ने र त्यसको लय र संगीत बनाउने काम गर्थे । आफूले डायरीमा लेखेको, त्यति बेला लय बनाएको र कम्पोज गरेको गीतहरू अब एक एक वटा गर्दै बजारमा ल्याउने पनि उनले बताएका छन् । जेलमा हुँदा आफूले तयार गरेको ‘आमा तिम्रो छोरो झ्यालखानामा छ…’लाई उनले बजारमा समेत ल्याइसकेका छन् ।

जेलमै हुँदा रेशमलाल चौधरीले आफ्नो लय र संगीतमा अर्को नयाँ गीत बनाए । त्यति बेला यो गीत उनले जेलबाटै गायक राजेश पायल राईलाई पठाएका थिए । त्यो गीत चार वर्ष अघि नै गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको थियो । यो गीतको टर्याक उनले जेलमै बसेर बनाएका थिए ।

जेल भित्रैबाट आफ्ना साथी रोजन राईलाई उनले यो गीतको ट्र्याक पठाएका थिए । उनी जेल भित्रै हुँदा गायक राजेश पायलले यो गीतको लिरिकल भिडियो समेत बजारमा ल्याए । राजेश पायलको स्वरमा चार वर्ष अघि आफूले जेलबाटै निकालेको यो गीत राजनीतिक विद्रोहको रूपमा आएको पनि रेशमले बताए । त्यो गीतको बोल यस्तो छ,

‘पैसा र पावर भए
अपराधी पनि पुरस्कृत हुन्छन्
लाचार विवश भई
निर्दोष पनि तिरस्कृत हुन्छन्
चार दिवारमा थुनिएर आज भोली बन्दछु
धेरै भोट पाएर होला झ्याल खानामा बन्द छु…’

जेलमा हुँदा यो गीत रेकर्ड गर्नको लागि आफूलाई गायक राजेश पायल राईले नै प्रेरित गरेको पनि उनले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । यो गीत मात्र हैन, राजेश पायल राईलाई उनले अर्को गीतमा पनि सहकार्य गर्न अनुरोध गरेका छन् । त्यो गीत पनि आफूले जेलको बसाई मै तयार गरेको गायक तथा संगीतकार रेशमलाल चौधरीले जानकारी गराए ।

रेशमको भनाइमा उनले काठमाडौँको भृकुटीमण्डपका कपडा पसलमा बिहान बेलुका भारी बोकेर सुरुका दिनमा जीविकोपार्जन गरेका थिए । रेडियो नेपालबाट स्वर परीक्षण पास गरेपछि २०५१ साल तिर भारी बोकेर थोरै थोरै रूपमा जम्मा गरेको पैसाबाट आफूले पहिलो गीत रेकर्ड गरेको स्मरण उनले सञ्चारकर्मीलाई गराए । त्यति बेला राजेश पायल राई गायनमा हिट भइसकेका थिए । राजेशले २०५० सालमै एउटा गीत रेकर्ड गर्दा एक देखि दुई हजार रुपैयाँसम्म पारिश्रमिक लिन्थे ।

राजेश पायल र आफू दुवै जनाले काठमाडौँको रत्न राज्य लक्ष्मी क्याम्पसमा संगीत पढेको र कलेजबाटै दोस्ती भएको पनि गायक रेशमले स्मरण गरे । यसरी आफ्नो सांगीतिक यात्रामा सुरुका दिनमै आफूलाई गायनमा सहयोग गरेका कारण आउँदा दिनमा पनि गायक राजेश पायल राईसँग सांगीतिक सहकार्य गर्ने पनि उनले बताए । यही सहकार्य अन्तर्गत रेशमको संगीतमा केही गीतहरु राजेश पालयले गाउँदै छन् ।

आफूसँग संगीतमा जोडिएकै कारण रेशमले गायक राजेश पायललाई आफ्नो पार्टीमा ल्याउने तयारी पनि गरिरहेका छन् । राजेशलाई रेशमले आउँदा दिनमा आफ्नो पार्टीबाट मन्त्री समेत बनाउने आश्वासन पनि पत्रकार भेटघाटका क्रममा दिएका थिए । राजेशले पनि रेशमलाई उनको पार्टीमा आउने’bout आश्वस्त पारेका छन् । राजनीतिसँगै राजेश पायलसँग आफू लामो संगीत यात्रामा अघि बढ्ने रेशमले जिकिर गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।