जले सुदूरपश्चिमका सबै प्रमुख सरकारी कार्यालय

२४ भदौ, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सोमबार पनि जेनजी पुस्ताका युवाहरूले आन्दोलन प्रदर्शन गरेका थिए ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय हुँदै फेरि मन्त्रिपरिषद्को कार्यालय हुँदै ट्राफिक चौराह– सहीद गेट क्षेत्रमा प्रदर्शन गरेका उनीहरू सानो समूहमा सहभागी थिए ।

काठमाडौँमा जेनजी आन्दोलनले हिंसात्मक मोड लिएपछि नेपाल प्रहरीले उनीहरूलाई पछ्याउँदै घेरा हालेर राखेको थियो । सोमबार कम संख्यामा भएको जेनजीका युवाहरूले शान्तिपूर्ण प्रदर्शन मात्र गरेका थिए । तर, मंगलबार बिहानैदेखि भएको प्रदर्शनमा भने ठूलो संख्यामा धनगढीमा देखिए ।
कैलाली बहुमुखी क्याम्पसको मूल गेटबाट क्याम्पस पोशाकमा समेत देखिएका जेनजी युवाको एक समूह मंगलबार बिहानै त्यहाँबाट निस्किएको थियो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि उक्त समूहले प्रदर्शन गर्दै नाराबाजी गरिरहेको थियो ।
बिहान ९ बजेपछि त्यहाँ विभिन्न ठाउँबाट आएको जेनजी समूहका युवाहरू भेला हुुँदै नाराबाजी गर्न थाले । भीड बढ्दै जान थालेपछि जेनजीको प्रदर्शनले विस्तारै ठूलो रूप लिन थाल्यो । कसैले नेतृत्व नगरेको प्रदर्शनमा नेपाली कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियू, माओवादी निकट अखिल क्रान्तिकारीका चिनिएका नेता कार्यकर्ताहरू समेत प्रदर्शनमा सहभागी देखिन्थे ।
कतिसम्म भने धनगढीका व्यवसायीहरूले समेत मुख्यमन्त्री कार्यालय अगाडि पुगेर जेनजीलाई समर्थन गरेका थिए । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले सरकारले जेनमी आन्दोलनमा गरेको दमन तानाशाही प्रवृत्ति भएको बताएका थिए ।
करीब १० बजेको आसपासमा मुख्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जेनमीका युवाहरू नाराबाजी गर्दै सुदूरपश्चिम प्रदेश सभा भवन अगाडि भेला भएका थिए । त्यहाँ प्रदर्शन सकेर उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि पुगे । जिल्ला प्रशासन कार्यालय अगाडि पुुग्दा सम्म जेनजी युवाको आन्दोलन शान्तिपूर्ण नै थियो ।
प्रशासन कार्यालयमा समेत जेनजीको प्रदर्शनमा सहभागी हुुन विभिन्न ठाउँमा निस्किएका जुलुस मिसिने क्रम जारी नै थियो । जिल्ला प्रशासन कार्यालय अगाडि राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरूले आन्दोलनको अगुवाई गर्न खोजेपछि ‘झोलेहरू गो ब्याक’ भन्दै नाराबाजी गरिएको थियो ।
त्यसपछि अघि बढेको जेनजी आन्दोलन फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ मोडियो । आन्दोलनमा प्रवेश गरेको एक समूहका युवाहरू करीब साढे ११ बजेतिर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्र प्रवेश गरेर ढुंगामुढा प्रहार गर्दै तोडफोडमा उत्रिएपछि प्रदर्शनले उग्र मोड लिएको थियो ।
प्रहरीले सम्झाइबुझाई गरेर उनीहरूलाई बाहिर पठाएपनि ढुंगामुढा प्रहार गर्ने क्रम नरोकिएपछि प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो । प्रहरी मुख्यमन्त्री कार्यालयको भीड व्यवस्थापन गरिरहँदा एउटा समूह आगजनी गर्ने भन्दै धनगढी उपमहानगरपालिका–४ स्थित परराष्ट्र मन्त्री आरजू राणा देउवाको निवासतर्फ लागेको थियो ।
प्रदर्शनकारीले पहिलो निसाना राणाकै घरलाई बनायो र त्यहाँबाट आगजनी सुरू गरिएको थियो । आगो नियन्त्रणमा लिन धनगढी उपमहानगरपालिकाले दमकल पठाएपनि प्रदर्शनकारीले अघि बढ्न नदिएपछि आगो बलिरह्यो ।
त्यहाँ आगो लगाएर फर्किएको समूहले त्यसपछि एमाले कैलाली पार्टी कार्यालयमा आगो लगायो । यति बेला दिउँसोको १२ बजेको थियो । जिल्ला प्रशासन कार्यालयले प्रदर्शनकारी भेला भएको क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिसकेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
