राष्ट्रिय समाचार

जेनजीभित्रै विवाद भएपछि सेनासँग वार्ता निष्कर्षविहीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– आन्दोलनमा होमिएका जेनजी प्रतिनिधिहरुबीच नै आगामी नेतृत्वकर्ता को हुने भन्ने विषयमा विवाद हुँदा सेनासँगको वार्ता निचोडमा पुग्न सकेन।

उनीहरुबीच नै विवाद भएपछि सेनाले आगामी सरकारको नेतृत्वको टुंगो लगाएर साझा प्रतिनिधिसहित बिहीबार बिहान सम्पर्कमा आउन भनेको हो।

बिज्ञापन

नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर नै यस्तो जानकारी जंगीअड्डामा दिएको हो। सरकारको नेतृत्वको सन्दर्भमा सुशीला कार्कीको नाम केही जेनजी समूहले समर्थन जनाए पनि त्यसमा असन्तुष्टि जनाउँदै केही जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी नै गरेका थिए।

‘यहाँहरु को–को आउनु हुनेछ। कति जना आउनुहुनेछ, फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ नेपाली सेनाका अधिकारीले जंगीअड्डाभित्र माइकबाट नै भनेको छ, ‘एक–एक जना ग्रुप लिडरको नामसहित लेखेर हामीलाई दिनुहोला। यहाँहरुको सबै समूहबाट।’

उनीहरुले बुधबार दिउँसो लामो जुमबैठक पछि सुशीला कार्की र बालेन शाहको नाम तय गरेर जंगी अड्डा पुगेका थिए। तर जंगीआड्डा पुगेपछि उनीहरुको फरक फरक समूह बीच पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा नै विवाद आएको हो। निर्णय गर्न नसकिने र जे पनि बोलि हिँड्ने भन्दै उनीलाई अघि बढाउँदा मुलुक झन समस्यामा पर्ने अधिकतम व्यक्तिको धारणा थियो। त्यो पुस्ता हामीले खोजेको होइन भन्दै उनीहरुले बालेनलाई पर्खन पर्ने भन्दै छलफल गरेका थिए।

बाहिर भेला भएर युवाहरुले शुसीलाको नामविरुद्ध नाराबाजी गरेका थिए। अन्य समूह पनि सेनालाई भेट्न पुगेका थिए। कोहीले सेनाको प्रतिनिधि भेटे कोहीले प्रधानसेनापति असोकराज सिग्देललाई नै भेटेका थिए।

यसरी युवाहरुबीच नै मतभेद भएपछि सेनाले अहिले तत्काल निर्णय लिन नसक्ने भनेका हुन्। सेनाले पनि युवावाटै कोही आएर नेतृत्व लिएर अघि बढ्न भनेको छ।

यद्यपि सरकार बनाउनु अघि सेनाले दलका नेताहरुसँग पनि छलफल गर्नेछ। दल पनि सच्चिएर अघि बढ्ने र नयाँ पुस्ता दलभित्र पनि भएकाले त्यसलाई पनि सेनाले नजर अन्दाज गर्न नहुने सुझाव पाएको छ।

जेनजी पुस्ता परम्परागत दलमा पनि भएको र अहिले यी पुस्ताले गरेको आन्दोलन दल भित्रबाट भयो भने के गर्ने भनेर त्यसमा पनि सेना सचेत रहेको एक सैन्य अधिकारीले बताए। जेनजीको नाममा जेलबाट बाहिर निस्किएकालाई सेनाले आह्वान गरेर सकेसम्म छिटो जेलमा फर्कने र पुरा सजाय कटाउन भनेको छ।

यद्यपि कोही नआएमा त्यस्तालाई पक्राउ गरेर सजाय दोब्बर गर्न पनि जेनजीका केही सदस्यहरुले सुझाएको पनि सैन्य अधिकारीहरुले सुनाए।

जेनजीको आशय जेलमा सजाय काटिरहेका अपराधी भगाउने, भवन जलाउने थिएन। तर त्यो भएकोमा दुखी रहेको र सेनाको सहयोगमा त्यस्ता अपराधीहरु जुन रुपमा बाहिर निस्किएका भए पनि फर्काउन पहल गर्न पर्ने विषयलाई सेनाले पनि गम्भिर रुपमा लिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।