घटना

खरानी कोट्याएर स्थानीयले नियाल्दैछन् प्रचण्ड निवास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२६ भदौ, काठमाडौं। खुमलटारको अवस्था पनि उस्तै टिठलाग्दै छ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर अरू नेताको जस्तै जेन-जी आन्दोलनको निशाना बन्यो । यो घरमा पनि बाँकी केही छैन ।

आगजनीपछि पनि केही बाँकी थिए भने, त्यो अब लुटपाट भइसकेको छ ।तुलानात्मक रूपमा प्रचण्डको घर जीर्णजस्तो महसुस हुन्थ्यो । मानिसहरू हिँडडुल गर्दा हल्लिएको अनुभूत सबैले गरिरहेका थिए । अन्य नेताका घरमा जस्तै सिसाका टुक्रा यहाँ पनि छन् । जल्न नसकेका सरसामान छरिएका छन् । छेउमै रहेको सुरक्षाकर्मीको क्वार्टर पनि ध्वस्त बनाइएको छ ।

बिज्ञापन

कुनै कोठाको अस्तित्व बाँकी छैन । परिवारसँग खिचाएका फोटाहरू पनि भुइँमा असरल्ल छन् । त्यहीमध्येमा एउटा थियो- प्रचण्डपत्नी सीता दाहालसँगको परिवारको फोटो ।

त्यो हेर्दै दिवगंत सीता दाहाललाई सम्झिएकी एकजना स्थानीय भावुक भइन्- धन्न यिनले यो अवस्था देख्नुपरेन । नत्र कस्तो हुन्थ्यो होला ?

अरु स्थानीयमा भने ‘नेताहरू कस्ता घरमा बस्ने रहेछन्’ भन्ने चासो नै धेरै देखिन्थ्यो । पैसा र सुनजस्ता बहुमूल्य धातु कतै लुकाइएको पो छ कि भन्दै खरानी कोट्याउनेको संख्या पनि कम थिएन ।

सबै जलेर नष्ट हुँदा पनि नेताप्रति नागरिकको शंका सकिएको थिएन । ‘हामीले तिरेका कर सबै यहीँ त होलान् नि ! लाने हो,’ डम्बेल बोकिरहेका एकजनाले व्यंग्य गर्दै भने, ‘प्रचण्ड त जिम पनि पो गर्ने रहेछन् ।’

प्रचण्डको घर अगाडि पसल व्यवसाय गर्ने एक महिलाले यो आन्दोलनले परिवर्तन ल्याए पनि यसरी क्षति गराउनु ठिक नभएको बताइन् ।

उनका अनुसार मंगलबार दिउँसो एकाएक हुल आयो । पहिलो हुलले केही गरेको थिएन । पछि दोस्रो हुल आएर त्यहीँ मिसियो । प्रचण्डको घरलाई चारैतिर घेरा हाल्यो । तोडफोड गर्न थाल्यो । त्यसपछि आगो लगाइयो । पूर्वप्रधानमन्त्रीकै घर जल्दा पनि प्रहरी आएन ।

अहिले खण्डहर बनेको यही घरमा बिहान व्यायाम गरेर प्रचण्ड निस्किएको उनले देखेकी थिइन् ।

‘दु:खलाग्दो कुरा, रातिसम्मै यहाँ चोरी र लुटपाट भयो । आखिर मौका पाउँदा सबैले औकात त देखाउने रहेछन् नि,’ चिन्तित सुनिएकी उनले भनिन्, ‘नारा केही लगाएका थिएनन् । हो-हल्ला मात्र गरे । खै, यो जेनजी भन्ने कुरा सुनेको पनि त्यही दिन हो । मलाई त राम्रोसँग भन्न (उच्चारण) पनि आउँदैन ।’

स्टोरी : कौशल काफ्ले, भिडियो : कमल प्रसाईं

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।