घटना

हत्या गर्ने व्यक्ति नै शव खोज्न सक्रिय, कुकुरले पत्ता लगाएपछि पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

९ असोज, जनकपुरधाम । ५ असोजदेखि बेपत्ता भएका सिरहा गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका अभिषेक सिंह ७ असोज बिहान घर नजिकैको आँप बगैँचामा मृत अवस्थामा फेला परे । उनको शव फेला परेपछि गाउँभरि सनसनी फैलियो ।

प्रहरी टोली तत्कालै घटनास्थल पुगेर अनुसन्धान सुरु गर्‍यो । अनुसन्धानका लागि तालिमप्राप्त कुकुर (डग टोली) समेत प्रयोग गरियो । कुकुर सुँघ्दै-सुँघ्दै मृतककै हजुरबुबा पर्ने विन्देश्वर सिंहको आँगनमा पुग्यो । तर घरका अन्य सदस्यसम्म नपुगी रोकियो । त्यस बेला विन्देश्वरका १७ वर्षीय छोरा पंकज छतमा बसिरहेका थिए ।

बिज्ञापन

१५ वर्षीय बालक अभिषेक हराएपछि पंकज आफन्तसँगै दिनरात खोजीमा सक्रिय थिए । उनी भिडमै मिसिएर घटनामा संलग्न नभएझैँ व्यवहार गरिरहेका थिए । तर डग टोली आउँदैछ भन्ने खबर सुनेपछि उनी आत्तिएर छतमा पुगेका थिए । शंका बढेपछि प्रहरीले पंकजसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो ।

‘घटना भएको बेलादेखि सँगै खोजिरहेका पंकज डग टोली आएपछि डराएर छतमा बसिरहेका थिए । तर प्रहरी आँगनसम्म पुगेपछि शंकाको आधारमा उनलाई पक्राउ गरियो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने ।

अनुसन्धानका क्रममा पंकजकै बयान, घटनास्थल र वरपर भेटिएका प्रमाणहरूले उनी नै मुख्य आरोपी भएको प्रष्ट भएको प्रहरी स्रोतले जनाएको छ । घटनामा प्रयोग भएको गम्छा, प्लास्टिकको ड्रम साथै मृतक र पंकज दुवैको मोबाइल प्रहरीले बरामद गरेको छ ।

सिरहाका प्रहरी उपरीक्षक एसपी अनन्त शर्माले दोषी पत्ता लागिसकेको र केही निष्कर्ष आउन बाँकी रहेको बताए ।

‘दोषी पत्ता लागिसकेको छ । धेरै प्रमाण जुटिसकेका छन्,’ एसपी शर्माले भने, ‘केही निष्कर्ष निकाल्न बाँकी छ । निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौं ।’

अभिषेकको हत्या आफैंले योजनाबद्ध तरिकाले गरेको पंकजले बयानमा स्वीकारेका छन् । उनको बयानको आधारमै घर नजिकैको पोखरीबाट हत्यामा प्रयोग भएको ड्रम, पोखरी किनाराबाट मृतकको मोबाइल र सिमकार्ड, विद्यालय प्रांगणबाट गम्छा बरामद गरियो ।

त्यस्तै, पाँच करोड फिरौती माग गर्दै इमोमार्फत पठाइएको सन्देश पठाउन प्रयोग भएको पंकजकै मोबाइल दाउरा राख्ने घरभित्रबाट फेला परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।