बढ्दैछ डेंगु संक्रमितको ग्राफ

धेरैलाई लाग्न सक्छ, मनसुन सकिएसँगै डेंगुको जोखिम पनि सकियो । तर मनसुन सकिएलगत्तै ‘पोस्ट मनसुन’ डेंगुको जोखिम यथावत् नै छ।
काठमाडौँमा एक सातायता डेंगु संक्रमितको ग्राफ उकालो लागेको देखिन्छ। केही साता अघिसम्म डेंगुभन्दा स्क्रब टाइफस बढी देखिएकोमा हाल त्यसको ठिकविपरीत डेंगु संक्रमण बढेको छ।

सन् २०१९ र २०२२ मा देखिएका डेंगुका ठूला प्रकोपहरूबाहेक वर्षेनी डेंगु दशैँ-तिहार वा सोलगत्तै कुनै विशेष वा निश्चित क्षेत्र/ठाउँमा प्रकोपको रूपमा देखिने गरेको पाइन्छ।
सन् २०२२ मा डेंगु महामारी सेप्टेम्बर/अक्टोबर महिनामा उत्कर्षतिर गएको देखिन्छ। तसर्थ विगतको अनुभवलाई आधार मान्ने हो भने डेंगुको जोखिम मनसुनसँगै अन्त्य नभई झन् बढेको छ।
केही दिनअघि नेपालले भारी वर्षा र बाढीको सामना गर्नुपरेको थियो। वर्षालगत्तै नेपालबाट मनसुन बाहिरिएको छ। तर मनसुनपछि विभिन्न ठाउँ (खाल्डाखुल्डी) जस्तै: फालिएका ड्रम, सवारी साधनका पुराना टाएर, गमला आदिमा पानी जमेको देखिन्छ । यस्तो अवस्था अनि ठाउँ नै डेंगु फैलाउने लामखुट्टेको लागि जीवनचक्र पूरा गर्नको लागि उपयुक्त बन्ने गर्छ।
एडिस जातको लामखुट्टेले डेंगु भाइरस फैलाउने गर्छ भने यसलाई अन्ड बाट बयस्क हुनको लागि लगभग ७ देखि १० दिन जतिको समय लाग्छ।
सन् २०१९ को डेंगु प्रकोपको समयमा काठमाडौँको खुसिबु, नयाँबजार क्षेत्रमा डेंगु भाइरस डढेंलोझैं फैलिएको थियो। सुरुसुरुमा अधिकांश संक्रमितहरू सवारी साधन मर्मत गर्ने ग्यारेज नजिकै बसोबास गर्नेहरू हुने गरेको मलाई सम्झना छ।
यसको मुख्य कारण उनीहरू बसोबास गर्ने ठाउँतिर वा नजिकै प्रशस्त फालिएका सवारी साधनका पुराना टायर हुनु थियो। किनभने, त्यस्ता टायरका भित्री भागमा जमेको आकाशे पानीमा हत्तपत्त सूर्यको किरण नपर्नाले पानी लामो समयसम्म रहने र त्यसको कारण लामखुट्टेलाई आफ्नो वृद्धि विकास गर्न वा जीवनचक्र पूरा गर्न सहज हुन्छ ।
तसर्थ, पानी जम्न सक्ने जुनसुकै वस्तुको अवलोकन गर्दै लामखुट्टेको लार्भा नष्ट गर्न सके मात्र सम्भावित डेंगु प्रकोपलाई रोक्न सकिने छ।वर्षेनी लामखुट्टेको लार्भा ‘खोज र नष्ट’ गर्ने भन्ने बहस हुने गरेको भए तापनि व्यवहारमा प्रभावकारी रूपमा लागु गरेको देखिँदैन। अर्थात्, लामखुट्टे नियन्त्रणमा नीति निर्माताबाट नै इच्छा शक्ति देखाउन सकेको देखिँदैन।
हालै नेपालबाट मनसुन बाहिँरिदै गर्दा सम्भवत: अबको केही दिनमा लामखुट्टेको संख्या बढ्न सक्ने र फलस्वरूप पोस्ट मनसुन डेंगुको समस्या विगतमा जस्तै देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
एडिस जातको लामखुट्टे, विशेषत: ‘एडिस इजिपटाई’ र ‘एडिस एल्बोपिक्ट्स’ दिनमा बढी सक्रिय हुने गर्छ। सो समयमा अधिकांश मानिस काममा नै व्यस्त हुने हुँदा लामखुट्टेको टोकाइबाट बच्न त्यति व्यावहारिक देखिँदैन। धेरैले टोकिसकेर चिलाएपछि मात्र लामखुट्टेले टोकेको थाहा पाउने गरेको भन्ने गरेका छन्।
हाल डेंगु विरुद्धको खोप नेपालमा उपलब्ध नभएकोले डेंगुबाट बच्न लामखुट्टे नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ। लामखुट्टे नियन्त्रणमा केन्द्र सरकार एक्लैले मात्र पनि पहल गरेर सम्भव नहुने भएकोले स्थानीय सरकार तथा नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्छ।
ज्वरो अनि खानेकुराको नाम सुन्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ ? त्यो डेंगुको प्रारम्भिक लक्षण हुनसक्छ ।यी बाहेक आँखाको गेडी खस्ला जस्तो गरेर दुख्ने, मांसपेसी तथा जोर्नी असाध्य दुख्ने, पखाला लाग्ने, शरीरमा स-साना बिबिरा देखिने जस्ता समस्या डेंगुका अरू प्रारम्भिक लक्षण हुन्।
शरीरको दुखाइ सहन गाह्रो हुने हुँदा यस्तो रोग सत्रुलाई पनि नलागोस् भनेर अधिकांश डेंगु बिरामीले भन्ने गर्छन् । संक्रमण भएको झन्डै ४ देखि १० दिनसम्ममा डेंगुका लक्षणहरू देखिन्छन् ।
पछिल्लो समय समाजमा डेंगुलाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आएको छ। सन् २०१९ मा डेंगु काठमाडौँमा पहिलो पटक ठूलो प्रकोपको रूपमा देखिँदा सर्वसाधारणले यो संक्रमणलाई गम्भीर रूपमा लिएको मेरो अनुभव छ। तर सन् २०२४ सम्म अर्थात् गत वर्षसम्म आइपुग्दा डेंगुलाई एकदम सामान्य रूपमा लिन थालिसकेको देखिन्छ।
धेरै मानिसले संक्रमित भइसकेपछि पनि आफ्नो दैनिकीलाई निरन्तरता दिने गरेको देखिन्छ भने चिकित्सकको परामर्श बिरलै मात्र लिने गरेको देखिन्छ।
हुन त, सबै संक्रमित व्यक्ति अस्पताल भर्ना हुनैपर्छ भन्ने होइन। अधिकांश संक्रमित घरमा नै आराम गरेर कुनै विशेष औषधिबिना नै केही दिनको अन्तरालमा स्वास्थलाभ गर्न सक्छन। तर डेंगु वर्षेनी देखिने क्रम बढ्दै जाँदा यसको जटिलता पनि संक्रमितमा बढ्दै गएको देखिन्छ।
पछिल्लो केही वर्षदेखि संक्रमितले रक्तश्रावको सिकायत गर्ने क्रम बढेको देखिन्छ। गत वर्ष दशैँ-तिहारपछि धेरै संक्रमितले यस्तै स्वास्थ समस्या अनुभव गरेको बताएका थिए। एक मेरा परिचित मित्र त डेंगु संक्रमित भएर घरमा आराम गरिरहेको बेला नाकबाट अचानक रगत बगेको भन्दै अस्पतालको आकस्मिक कक्षमा आइपुगेका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
