आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन तप्पा (पहलमानपुर) द्वारा विशाल सत्संगको आयोजना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तप्पा (पहलमानपुर), १ पौष । सन्त निरंकारी सत्संग भवन तप्पा (पहलमानपुर) द्वारा विशाल सत्संगको आयोजना गरिएको छ ।

कैलालीको पहलमानपुरमा रहेको तप्पा सत्संग भवनमा विशाल सत्संगको आयोजना सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा उहाँले साध संगतलाई सम्बोधन गर्दै भन्नुभयो कि ८४ लाख योनिमा मानव योनि भनेको निकै दुर्लभ योनि हो । यसै चोलामा सत्गुरु माता जीको अवतार भएको छ, त्यसमा हामी पनि मानव योनि लिएर यस धरातलमा आएका छौं । यो हाम्रो लागि महान भाग्य हो, यसलाई त्यसै गुमाऔं । मानवको जीवन केवल धन–सम्पत्ति, सन्तान प्राप्ति, यश–आरामको लागि मात्र प्राप्त भएको होइन । आज संसार यसैमा व्यस्त भएको हामी पाउँछौं । अनेक प्रकारका अमानवीय हत्या–अत्याचार गरिरहेका छन् । आफू अगाडि बढ्ने होडबाजीमा अरुलाई पछाडि पन्छाउँदै गइरहेको छन् । तर मानवलाई थाहा छैन कि यो मानव चोला कति दिनका लागि मैले यस संसारमा पाएको हुँ ? कति दिन मैले यो यश–आरामलाई अपनाउनु छ, यसतिर मानवको ध्यान गएको हामी पाउँदैनौँ । सानो–ठूलो, धनि–गरीब, कालो–गोरो, जात–भात आदि भावले मान्छेको मन यस संसारमा रुमल्लिएको छ । तर उसलाई थाहा छैन मानव चोला क्षणिक हुने गर्दछ र यो चोला भनेको ईश्वर परमात्मालाई पाउनको लागि हो । आज सन्त निरंकारी मिशनले संसारका मानवलाई ब्रम्हज्ञानको माध्यमबाट जिउँदै मानवलाई यस ८४ लाख योनिबाट मुक्त गराइरहेको हामी पाउँछौं । सन्त निरंकारी मिशनका अनुयायीहरु सत्गुरुबाट ब्रम्हज्ञानको अमूल्य खजाना लिएर विभिन्न भ्रम भ्रान्तिमा रहेको मन–मस्तिष्कलाई स्वच्छ बनाएर सुखीको जीवन बिताइरहेका छन् । सत्गुरुले ब्रम्हज्ञान प्रदान गर्दा हाम्रो कुनै जात–पात, रहन–सहन, धनि–गरीब, खान–पान आदि कुरालाई नसोधेर क्षणभरमै यो अमूल्य ब्रम्हज्ञान हामीलाई प्रदान गर्नुभयो तर हामी चाहिँ यस ज्ञानलाई साधारण सम्झेर यसतिर आफ्नो पाइला अगाडि बढाउन सकिरहेका छैनौं, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले आत्मा, ईश्वर परमात्माको अंश हो । यदि आत्मा यसबाट टाढा रहन्छ भने अनेकौं जन्म जन्मान्तर अनेकौं दुःख–कष्ट खाँदै भौतारिँदै रहन्छ । आज सत्गुरुले हामीलाई यता–उता मोह–मायामा न भौतारिन भनेर यो सत्संग रुपी आमाको काख दिनुभएको छ । हामीले आफ्नो जीवनलाई यस सत्संगमा सुनेका सन्तहरुका अमूल्य बाणीलाई आफ्नो हृदयमा अँगालेर अगाडि बढ्नु पर्नेछ । जसबाट हाम्रो जीवन सुन्दर, सुखी, शान्त हुने छ । परम आदरणीय राजपिता जीले भन्नुभएको थियो कि संसारमा दुई प्रकारका मान्छेहरु हुने गर्दछन्– ती हुन् नास्तिक र आस्तिक । नास्तिकले परमात्मालाई मानिरहेको हुन्छ तर उसले परमात्मालाई जानेको भने हुँदैन । आस्तिकले त परमात्मालाई मान्दै मान्दैन । गहिरिएर विचार गर्दा यहाँ दुईटैमा कुनै फरक हामी पाउँदैनौँ किनभने नास्तिकले मानेर पनि उसले जानेको छैन । यसबाट उसको जीवनमा कुनै बदलाव आउन सक्दैन । सत्गुरु बाबा हरदेव सिंह जी महाराजले हरदेव बाणीमा भन्नुभएको छ–
जसको भक्ति जसको पूजा उसको ज्ञान जरुरी छ ।
भन्छ हरदेव पहिले ईश्वरको पहिचान जरुरी छ ।

शब्दलाई जानेर मात्र भक्ति पूर्ण हुन सक्दैन, जबसम्म हामी त्यसको साक्षात दर्शन गर्न सक्दैनौं । आज सत्गुरु माता जीले विश्वका मानवहरुलाई यस निराकार पारब्रम्हमको साक्षात दर्शन गराएर उनीहरुलाई मुक्तिको पथमा डो¥याई रहनुभएको छ । अनेकौं धर्म ग्रन्थ पाठ गरेर ईश्वरको भक्ति हुन सक्दैन, जबसम्म हामी ईश्वरको साक्षात दर्शन गर्न सक्दैनौ । गीता पढेर कोही पण्डित हुँदैन, बाइबल पढेर कोही पादरी हुँदैन, त्यस्तै कुरान पढेर कोही मुल्ला हुन सक्दैन त्यस्तै प्रकार केवल शब्दमा मात्र हामी सीमित रहन्छौ भने हामी सुख र आनन्दको बाटोतिर अग्रसर हुन सक्दैनौँ । त्यसको लागि सत्गुरुको द्वारमा आएर गुरुज्ञानद्वारा ब्रम्हज्ञान प्राप्त गरेर निराकार परमात्माको साक्षात दर्शन गरेर मात्र मानव योनि पाएको सार्थक गर्न सक्छौ, उहाँले बताउनुभयो ।

त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले संसारमा ईश्वर परमात्माका अनेकौं नामहरु रहेका छन् । जस्तै पानीलाई कोही वाटर भन्छ, कोहि जल भन्छ, कोहि नील भन्छ आदि–आदि यहाँ पानीका अनेकौं नाम भएर पनि पानी भिन्न–भिन्न हुँदैन । एउटै हुन्छ, त्यस्तै प्रकार संसारमा ईश्वर परमात्माको पनि नाम भिन्न–भिन्न रहेको छ तर परमात्मा भने एउटै छ । अतः यो अनेकौं नाम भएको निराकार परमात्मालाई जान्न योग्य छ । यसलाई निरंकारी मिशनले संसारका मानवहरुलाई ब्रम्हज्ञानको माध्यमबाट यसको दर्शन गराइरहेको छ । यस निराकारलाई जानेर मात्र यसलाई मान्दा जीवन सही अर्थमा सार्थक हुन सक्ने जानकारी मिशनले विश्वका मानवलाई दिइरहेको छ । ईश्वरलाई जान्न सकिन्छ युगौंयुगदेखि जतिपनि साधु–सन्त, अवतारी पुरुषहरु संसारमा आए सबैले यही सन्देश दिए, आज त्यही सन्देश सन्त निरंकारी मिशनले दिइरहेको छ । मिशनमा केवल विचार या प्रवचन मात्र दिइँदैन यहाँ सत्गुरुद्वारा साक्षात निराकारको दर्शन पनि गराइन्छ । मिशनले यसको बोध गराएर परमात्मा यो हो, यसलाई जान्न सकिन्छ, देख्न सकिन्छ भनेर जानकारी गराउँछ, उहाँले सम्झाउनुभयो ।

गायक तेज बोहराद्वारा हरदेव वाणी गायनबाट आरम्भ गरिएको सत्संग कार्यक्रममा मसुरीया सत्संग भवनका मुखी केहर सिंह ओड, सुख्खद सत्संग भवनका मुखी, काँडाढिकका मुखी खेमराज काफ्ले, खैलाड सत्संग भवनका मुखी मोति राम, सेवादल शिक्षक भवन सिह, दिर्घ भण्डारी, सुनितादेवी कठरिया, चेतराज चौधरी, राधा चौधरी, हेमन्त माण्डव्य, माधवी (चन्दनचौकी भारत), उपेन्द्र, धनन्जय सुनार, भुपेन्द्र रानाथारु, धनञ्जय टमट्टा, पूर्ण कुमाल लगायतका स्थानीय सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो धारणा राखेका थिए भने सत्संगत कार्यक्रमको सञ्चालन धनसिंह जैगडीले गर्नुभएको थियो ।

स्मरण रहोस कि पहलमानपुर सामुदायिक बनको छेऊमा ४ कट्ठा जमिनमा रहेको उक्त भवनमा स्थानीय कठरिया थारु समुदायका व्यक्तिहरु निरंकारी मिशनमा आबद्ध रहेकाछन् । यस भवनको इंचार्जको रुपमा महादेव कठरियालाई दिइएको छ । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले यस भवनको घेरबारका लागि आवश्यक तारजाली उपलब्ध गराउने बताउनु भएकोे छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।