एमालेको मतदानमा किन भयाे ढिलाइ ?

नेकपा एमालेको जारी एघाराैँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमा ढिलाइ भइरहेको छ। अहिलेसम्म मतदानको समय चारपटक सरिसकेको छ।
आइतबार पहिलोपटक प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको थियो। त्यसपछि केन्द्रीय निर्वाचन आयोगले एक घण्टा पछिलाई सारेको मतदानको समय पुनः प्राविधिक कारण भन्दै साँझ ४ बजेदेखि सुरु हुने भनियो।

तर, प्राविधिक कारण भन्दै पुनः मतदान ढिलोमा बेलुकी ८ बजे सुरु गर्ने बताइएको छ। नेतृ सुनिता बरालका अनुसार अधिकतम समय लाग्यो भने पनि मतदान ८ बजेभन्दा ढिलो हुँदैन। ‘८ बजेभन्दा ढिलो नगर्ने गरी सूचना निकालिएको छ। अधिकतम समय लिइयो भने पनि त्योभन्दा पछाडि जाँदैन भन्ने छ,’ उनले भनिन्।
नयाँ नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ (ई–भोटिङ) गर्दै छ। दुई हजार २६२ प्रतिनिधि मतदानमा सहभागी हुने छ्न्।
कस्तो प्राविधिक समस्या देखिएको हो ?
भोटिङ मेसिनको प्राविधिक पाटो हेरिरहेका प्राविधिक लक्ष्मण रिमालका अनुसार अन्तिम नामावली पुनः प्रकाशन भएपछि उम्मेदवारहरूको फोटोसहितको विवरण लोड गर्नुपर्ने भएकाले समय लागेको हाे।
‘अन्तिम नामावली प्रकाशन भएपछि तलमाथि परेको नाम पुनः मिलाउनुपर्छ । सबै उम्मेदवारको फोटोसहितको डाटा कोडिङ गरी मेसिनमा लोड गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ रिमालले नयाँ पत्रिकासँग भने। मतदानका लागि ८० वटा भोटिङ मेसिन राखिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
