१८ टन ग्यास बोकेको बुलेट राजमार्गमै दुर्घटना, २५ घण्टापछि यातायात नियमित

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको बिचभागमा १८ टन ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा अवरुद्ध भएकाे राजमार्ग २५ घन्टापछि सुचारू भएको छ । दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेकाले सुरक्षाका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियाे।
मंगलबार बिहान करिब साढे ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बोकेको ट्यांकर अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै ट्यांकरबाट ग्यास चुहिन थालेपछि सम्भावित विस्फोटको खतरा देखिएको र त्यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले राजमार्गमा सवारी आवागमन ठप्प पारेको थियाे । २५ घन्टापछि अहिले बिहानदेखि यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ग्यास लिक भइरहेकाले यात्रु तथा स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै पूर्व–पश्चिम दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो । राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्वतर्फ आवतजावत गर्ने हजारौँ सवारीसाधन बिचबाटोमै रोकिएका थिए ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार मंगलबार साँझ ८ बजेदेखि पूर्व–पश्चिम हाइटेन्सन विद्युत् लाइन काटेर ग्यास बुलेट हटाउने प्रयास गरिएको थियाे । उनका अनुसार ग्यास बुलेट पल्टिएको अवस्थामा रहेको र पल्टिएकै तल्लो भागबाट ग्यास लिक भइरहेको हुँदा त्यसलाई टाल्न निकै सकस परेकाे थियाे ।
प्रहरी निरीक्षक थापामगरले ग्यास बुलेट पल्टाउँदा विस्फोट हुने उच्च जोखिम रहेकाले सावधानीपूर्वक काम गरिएकाे बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुर्घटनास्थलआसपास राजमार्गको दुवैतर्फ करिब पाँच किलोमिटर क्षेत्र खाली गराइएको थियाे । सुरक्षा सतर्कता बढाइएसँगै स्थानीयवासीलाई पनि सतर्क रहन आग्रह गरिएको थियाे । ग्यास बुलेट पूर्ण रूपमा सुरक्षित रूपमा हटाएपछि मात्रै राजमार्ग खुलाइएकाे छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
