तामाङले गरिन् उम्मेदवारी घोषणा, काठमाडौं २ वा ९ बाट लड्ने

काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौंको क्षेत्र नम्बर २ वा ९ लाई रोज्ने उनको भनाइ छ ।
विभिन्न सरोकारवालाहरुसँग छलफल र सामाजिक सञ्जालमा मत सर्वेक्षणपछि आफू चुनाव लड्न तयार भएको आशिकाले बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘यी छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोणहरू पनि आए । म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपले सम्मान गर्दछु । यिनै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु ।’आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने आशिकाले बताएकी छन् ।
‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु । विशेष गरी जेनजी भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसदभित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ,’ उनले भनेकी छन् ।
यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित रहेको समेत उनको भनाइ छ ।
‘म विश्वास दिलाउन चाहन्छु कि युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ आशिकाले भनेकी छन्, ‘हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ’ भन्ने तपाईंहरुको विश्वासलाई म कहिल्यै टुट्न दिने छैन ।’
आशिकाले आफ्ना तीनवटा अठोट अघि सारेकी छन् । ती हुन् :
– युवा पुस्ताको भावनाको कदर
– सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा
– भ्रष्टाचार विरुद्धको निरन्तर लडाइँ
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
