चैतन्य पाठशालाको रजत जयन्तीमा जगत टमट्टा सम्मानित

धनगढी: धनगढीस्थित चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। समारोहको अवसरमा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै शैक्षिक सहयोगका कार्यक्रम पनि सञ्चालन गरिएको छ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प) का सदस्य तथा क्रिकेट खेलको विकासमा सक्रिय व्यक्तित्व जगत टमट्टालाई “चैतन्य खेलकुद साधना पुरस्कार–२०८२” प्रदान गरिएको छ। लामो समयदेखि क्रिकेट खेलको विकास, खेलाडी उत्पादन तथा खेलकुद संस्कृतिको प्रवर्द्धनमा उनले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। विशेषगरीसुदूरपश्चिम क्षेत्रमा क्रिकेटलाई लोकप्रिय बनाउने, नयाँ प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिने तथा राष्ट्रिय स्तरसम्म पु¥याउन प्रेरित गर्ने कार्यमा उनको सक्रियता उल्लेखनीय रहेको बताइएको छ।
रजत जयन्ती समारोहका क्रममा महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्ली, पतञ्जलि योग गुरु लवदेव मिश्र, चैतन्य कृष्ण महाराज तथा चैतन्य पाठशालाका पदाधिकारीहरूले संयुक्त रूपमा टमट्टालाई खादा, माला, दोसल्ला, नगद रु. ५० हजार सहित “चैतन्य खेलकुद साधना पुरस्कार–२०८२” तथा अभिनन्दन–पत्र प्रदान गरेका हुन्।

सम्मान ग्रहण गर्दै टमट्टाले आफूलाई गरिएको सम्मान व्यक्तिगत मात्र नभई समग्र खेल जगतका लागि प्रेरणादायी भएको बताए। उनले चैतन्य पाठशालाले शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा गर्दै आएका गतिविधिहरू आफूले नजिकबाट नियाल्न पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गरे।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
