आस्था /आध्यात्म

विश्व बन्धुत्व र सद्भावको सन्देशसहित समर्पण दिवस सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, २ जेठ । धनगढीस्थित सन्त निरंकारी सत्संग भवनमा समर्पण दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित सन्तहरुलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले नेपालका ३९ जिल्लाका विभिन्न भवनहरुमा समर्पण दिवस मनाइरहेको जानकारी दिनुभयो ।

उहाँले सन् २०१६ मे १३ मा क्यानडाको मन्ट्रियलमा भएको कार दुर्घटनामा सत्गुरु बाबा हरदेव सिंहजी महाराजले आफ्नो नश्वर शरीर त्याग गरेर यस निरंकारमा मिलन भएको स्मृतिमा सन्त निरंकारी मिशनले हरेक वर्ष समर्पण दिवस मनाउँदै आएको छ । यस वर्ष देशकाल, परिस्थिति र समयलाई मध्यनजर गर्दै सत्गुरु बाबा हरदेव सिंह जी महाराजले दिनुभएको निर्देशनलाई पालन गर्दै मे १३ मा मनाउनुपर्ने कार्यक्रम मे १६ मा आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

बिज्ञापन

रावलले सत्गुरु बाबा हरदेव सिंहजी महाराजको जन्म सन् १९५४ फेब्रुअरी २३ मा दिल्लीमा बाबा गुरवचन सिंह जी र राजमाता कुलवन्त कौर जीको कोखबाट भएको बताउनुभयो । उहाँको प्रारम्भिक शिक्षा यागवेन्द्र पब्लिक स्कुलमा तथा माध्यमिक शिक्षा एयरफोर्स स्कुल, दिल्लीमा भएको थियो । उच्च शिक्षाका लागि दिल्ली विश्वविद्यालयमा भर्ना भए पनि सन् १९८० अप्रिल २४ मा बाबा गुरवचन सिंह जी महाराज निराकारमा समर्पित भएपछि मिशनको सम्पूर्ण जिम्मेवारी उहाँको काँधमा आएको र त्यसपछि उहाँले आफ्नो सम्पूर्ण जीवन मानव सेवा तथा मिशन विस्तारमा समर्पित गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सत्गुरु बाबा हरदेव सिंह जी महाराजका सन्देश मानव कल्याण, विश्व बन्धुत्व, सद्भाव, एकता र सदाचारमा आधारित रहेको बताउँदै सन्त निरंकारी मिशनले धर्म, संस्कृति, रहनसहन र भेषभूषाभन्दा माथि उठेर सम्पूर्ण मानवजातिलाई एउटै परिवारका सदस्यका रुपमा हेर्ने भावना विकास गरिरहेको बताउनुभयो ।

रावलले सत्गुरुको कृपाबाट मानवले आफ्नो वास्तविक घर निराकार परमात्मा भएको अनुभूति गर्ने उल्लेख गर्दै मानव जीवनको सार्थकता ब्रम्हज्ञान र सत्गुरुप्रतिको समर्पणमा रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नदी सागरमा विलीन नभएसम्म भौतारिएझैँ मानव आत्माले पनि निराकार परमात्मासँग एकाकार नभएसम्म शान्ति प्राप्त गर्न नसक्ने बताउनुभयो ।

उहाँले सन् १९८० अप्रिल २७ मा बाबा हरदेव सिंह जी महाराजले मिशनको नेतृत्व सम्हालेपछि प्रतिशोधको भावना त्याग्दै मानव सेवाको मार्ग अवलम्बन गर्न प्रेरित गरेको स्मरण गर्नुभयो । “रगतलाई नालीमा होइन, मानिसको नाडीमा बगाएर बदला लिनुपर्छ” भन्ने सन्देशमार्फत रक्तदान अभियान सुरु गरिएको र आज विश्वका विभिन्न देशहरुमा सन्त निरंकारी मिशनले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

सत्संग कार्यक्रममा अर्जुन गहतराज, गगन जी, टेकबहादुर खड्का, तरुण ओड, कृष्णराज जोशी, मोतीसिंह, रामबहादुर भूल, गगन भूल, झंकर विष्ट, कविराज रेग्मी, तेजबहादुर बोहरा, प्रकाशबहादुर साउद, नरबहादुर खड्का, रोशन, गीताञ्जली, सरस्वती, रेखा, आरती, निर्मला, चेतना, संगम, समिरा, प्रवीणता, पुष्पा, रुपा र इन्द्रमाया लगाएतले समर्पण दिवसको महत्वबारे भजन वा प्रवचनको माध्यमबाट आफ्नो विचार व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कृष्णबहादुर साउदले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।