‘अब गर्दिनँ’ भन्दै रोइरहेकी युवतीमाथि चक्कु देखाउँदै कुटपिट गर्ने युवक पक्राउ

काठमाडौं । एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई मंगलबार राति उनकै घरबाट नियन्त्रणमा लिइएको हो।


सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक युवतीमाथि गालीगलौज गर्दै चक्कु देखाएर डरत्रास सिर्जना गरिएको तथा कुटपिट गरिएको दृश्य देखिएको छ। भिडियोमा पीडित युवती रुँदै ‘अब गर्दिनँ’ भन्दै बारम्बार अनुरोध गरिरहेकी देखिन्छिन् भने युवकले उनलाई धम्क्याउँदै दुर्व्यवहार गरिरहेको देखिन्छ।
प्रहरीका अनुसार उक्त भिडियो चैत महिनामा तुलसीपुर–२ स्थित एक बासघारी क्षेत्रमा खिचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थल पक्राउ परेका युवकको घरनजिकै रहेको बताइएको छ। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो भने दोषीमाथि कडा कारबाहीको माग उठेको थियो।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.