सूचना प्रवाहलाई प्रभावकारी बनाउन टीकापुर वडा नं.५ का १५ चिराकीलाई ह्यान्ड माइक वितरण

टीकापुर, २३ असार । कैलालीको टीकापुर नगरपालिका–५ वडा कार्यालयले स्थानीय तहबाट प्रवाह हुने सूचना नागरिकसम्म छिटो, सहज र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले गाउँका १५ जना चिराकीलाई ह्यान्ड माइक वितरण गरेको छ।
वडा कार्यालयले सार्वजनिक सूचना, विकास निर्माणका कार्यक्रम, स्वास्थ्य तथा सरसफाइसम्बन्धी सन्देश, विपद् जोखिम न्यूनीकरण, सामाजिक सुरक्षा, राजस्व संकलन तथा अन्य अत्यावश्यक जानकारी समयमै नागरिकसम्म पुर्याउन चिराकीहरूलाई ह्यान्ड माइक उपलब्ध गराएको जनाएको छ।

वडा अध्यक्ष बलवीर थारुले गाउँका १५ जना चिराकीलाई ह्यान्ड माइक वितरण गरिएको जानकारी दिँदै यसबाट सूचना प्रवाहको कार्य थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यसअघि चिराकीहरूले गाउँ–गाउँमा पुगेर ठूलो स्वरमा कराउँदै सूचना सुनाउनुपर्ने बाध्यता थियो। ह्यान्ड माइकको प्रयोगपछि अब टाढासम्म पनि सहज रूपमा सूचना पुर्याउन सकिने उहाँले बताउनुभयो।
अध्यक्ष थारुले ह्यान्ड माइकमा एक पटक सूचना रेकर्ड गरेपछि त्यसलाई विभिन्न टोल र बस्तीमा पुनः बजाएर सहज रूपमा सूचना प्रवाह गर्न सकिने भएकाले समय र श्रम दुवैको बचत हुने उल्लेख गर्नुभयो।


वडा कार्यालयका अनुसार आधुनिक सञ्चार माध्यमको पहुँच सबै नागरिकसम्म समान रूपमा नपुगेको अवस्थालाई ध्यानमा राख्दै परम्परागत सूचना प्रणालीलाई प्रविधिसँग जोडेर थप प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। विशेषगरी ग्रामीण बस्तीका नागरिकलाई समयमै सूचना उपलब्ध गराउन ह्यान्ड माइक प्रभावकारी माध्यम बन्ने विश्वास वडा कार्यालयले व्यक्त गरेको छ।
वडा अध्यक्ष थारुले सूचना प्राप्त गर्नु प्रत्येक नागरिकको अधिकार भएकाले वडा कार्यालयबाट जारी हुने हरेक सूचना सबै टोल र समुदायसम्म समयमै पुर्याउन यस्तो सामग्री वितरण गरिएको बताउनुभयो। आगामी दिनमा पनि सूचना प्रवाह प्रणालीलाई थप व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
स्थानीयवासीले वडा कार्यालयको यस पहलको स्वागत गर्दै समयमै सूचना प्राप्त हुँदा सार्वजनिक सेवा, विकास निर्माणका गतिविधि तथा सामाजिक कार्यक्रमहरूमा नागरिकको सहभागिता अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.